Artharajniti ~ नेपाली कांग्रेसका नेता सुनिल शर्माले एकताका नाममा कसैले पनि कारबाही गरे अस्वीकार्य हुने बताएका छन् । विशेष महाधिवेशन स्थल भृकुटीमण्डपबाट पत्रकार सम्मेलनमार्फत एकताको आह्वान गर्दै उनले कारबाहीको प्रयास गरे कार्यकर्ताहरू जुर्मुराउनुपर्ने बताएका छन्। उनले भने, ‘साथीहरू एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने वा पार्टीलाई विभाजनतर्फ धकेल्ने कुनै पनि प्रयास अस्वीकार्य छ। यस्तो अवस्था आयो भने जिम्मेवार कार्यकर्ताहरू जुर्मुराउनुपर्छ र त्यो निकास अत्यन्तै दुर्भाग्यपूर्ण हुन्छ,’ ‘कांग्रेस संकटमा परे देश संकटमा पर्छ। त्यसैले सबै नेता कार्यकर्तालाई उच्च जिम्मेवारी र संयमका साथ अघि बढ्न आह्वान गर्दछु ।त्यस्तै उनले एकताका लागि संस्थापन पक्ष नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्ने र विशेष महाधिवेशन पक्षधर पनि एक कदम पछि हट्नुपर्ने बताए। उनले भने, ‘विषम् परिस्थितिमा नेपाली कांग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकताबद्ध राख्न संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नपर्छ । नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्छ। साथै विशेष महाधिवेशन पक्षधरहरूले पनि पार्टी एकताका लागि एक कदम पछाडि हटेर भएपनि आम कार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नपर्छ,’ ।
“एकताका नाममा पेल्ने, हेप्ने, कुनै पनि प्रयास स्वीकार्य हुँदैन ” : नेता शर्मा



