बालेनलाई रास्वपाको प्रस्ताव- प्रधानमन्त्री र रविपछिको वरीयता

Machchapuchchre Bank

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौंका मेयर बालेन शाहलाई एक बनाएर लैजान आज पनि दुवै पक्ष छलफलमा जुट्ने भएका छन्। रास्वपाका एक नेत दिएको जानकारीअनुसार बिहीबार ज्वागलमा भएको रवि-बालेन भेट सकारात्मक र निष्कर्षउन्मुख छ। ‘हिजोको भेटले एउटा सुखद वातावरण तय गरेको छ, आज दिउँसो १ बजेपछि पनि दुवैतर्फबाट दुई-दुई जना गरी चार जना छलफलमा बस्छौं, सहमतिका केही प्रस्ताव तयार पारिएको छ,’ ती नेताले भने, ‘त्यसमा हामी छलफल गरेर साझा निष्कर्षमा पुग्छौं। र, दुवै नेताहरू (रवि र बालेन) लाई राखेर छलफल गर्छौं।’ रास्वपाका ती नेताका अनुसार रास्वपाले बालेनलाई चुनावपछि सरकारको नेतृत्व गर्न प्रस्ताव गर्नेछ। र, पार्टी एकीकरण गरेर जाने हो भने रविपछिको वरीयता दिन रास्वपा तयार छ।  ‘संक्रमणकालीन सरकारको नेतृत्व गर्न बालेनजीलाई दिन हामी तयार छौं, पार्टीको नेतृत्व भने रविजीले नै गर्नुहुनेछ,’ ती नेताले भने, ‘यो रास्वपाको तर्फबाट प्रस्ताव हो, उताबाट के प्रस्ताव आउँछ, छलफलमै थाहा हुन्छ।’

रास्वपाले एकीकृत पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घन्टी नै राख्न प्रस्ताव गरेको छ।उनका अनुसार वार्ता समितिमा रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले, शिशिर खनाल छन्। वाग्ले नेतृत्वमा रास्वपामा राजनीतिक संवाद समिति छ। उक्त समितिमा डा. तोसिमा कार्की पनि सदस्य छिन् तर यस वार्तामा भने तोसिमा सहभागी छैनन्। मेयर बालेन शाहका तर्फबाट उनकै सचिवालयमा रहेका कुमार बेन र भूपदेव शाह वार्ता समितिमा छन्। बालेननिकट दलको नाम देश विकास पार्टी हो भने चुनाव चिह्न लौरो छ। लौरो चिह्नबाटै बालेन २०७९ को स्थानीय चुनावमा काठमाडौंको मेयर निर्वाचित भएका थिए। स्थानीय तह निर्वाचनपछि उक्त चुनाव चिह्न राखेर हाम्रो नेपाली पार्टी दर्ता थियो। उक्त पार्टीबाट बागमती प्रदेशमा २ जना सांसद पनि निर्वाचित भएका थिए। अहिले सन्ध्या खनाल अध्यक्ष रहने गरी लौरो चुनाव चिह्न राखेर देश विकास पार्टी आयोगमा अद्यावधिक गरिएको थियो। बालेन समूहमा रहेका केही नेताहरू देश विकास पार्टीमा छन्।  आज सुरूमा वार्ता समितिमा रहेका दुवै दलका नेताहरूबीच कुराकानी हुनेछ। प्रस्तावित खाकाहरूमा सहमति भएमा रवि र बालेन पनि आजै छलफलमा जुट्नेछन्। पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाउने कार्यतालिका छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्