Atharajniti ~ निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न निर्देशन दिएका छन् । सोमवार आयोगमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन सफल बनाउन गतिविधिमा सक्रिय हुन सबैलाई आह्वान गरेका हुन् ।उनले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भए पनि विगतमा काम गरेका व्यक्तिहरुबाट सुझाव लिएर काम गर्नसके कठिन नहुने पनि बताए । उनले भने, ‘विभिन्न वर्ग, समुदाय, क्षेत्रलाई समेटेर प्रतिनिधि सभामा प्रतिनिधित्व गराउने हाम्रो संवैधानिक व्यवस्थालाई टड्कारो रुपमा अंगीकार गरेर निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्दछ । यो निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा साथीहरुले काम गर्ने सन्दर्भमा अलि झन्झटिलो पनि मान्नुहोला । तर यो सूत्र र फर्मुलामा हुने निर्वाचन भएकाले सूत्रलाई पहिला नै मनन गरिदिनुभयो र ती व्यक्तिहरुबाट सल्लाह सुझाव लिएर कार्यक्रम सञ्चालन गर्नुभयो भने कठिन छैन । कम्मर कसेर निर्वाचन सम्पन्न गर्नुस् ।’ सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकेको छ ।
” निर्वाचन सफल बनाउन कम्मर कसेर लाग्नूस् ” : निर्वाचन आयुक्त भण्डारी



