Atharajniti ~ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन नसक्ने बताएका छन् । भदौ २३ र २४ गतेको विध्वंसबाट गठन भएको गैह्रलोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्नु नहुने उनको भनाइ छ । एमाले झापाका अगुवा कार्यकर्ताहरूलाई बिहीबार साँझ भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु आफैँमा हास्यास्पद भएको उल्लेख गरे । अध्यक्ष ओलीले सरकारले चुनाव गराउने भनेर घोषणा गरेको मिति अब चार महिना मात्र बाँकी रहेको तर नेताहरूलाई स्थान हद तोकेर चुनावको मञ्चन गर्नु जनता झुक्याउने खेल मात्र भएको बताए । “यो सरकार चुनाव गराउने भन्छ । नेताहरूलाई स्थान हद तोकेको छ । जिल्ला जान नपाउने, निर्वाचन क्षेत्र जान नपाउने, प्रचार गर्न नपाउने,” अध्यक्ष ओलीले सरकारप्रति आक्रोश पोख्दै भने, “राजनीतिक दल र नेताहरूलाई यस प्रकारको अवरोध गरेर कस्तो प्रकारको चुनाव गर्न खोजिएको हो ?” अध्यक्ष ओलीले एमालेमाथि जेनजीका नाममा भएको आक्रमण पार्टीले राष्ट्रियता, राष्ट्रहित, विकास र समृद्धिका काम गरेकोमा तिनलाई निस्तेज पार्ने प्रयास भएको उल्लेख गरे । यस प्रकारको आक्रमण रोक्न एमाले सक्षम रहेको उनको भनाइ छ ।
ओलीले समाजमा बढ्दै गएको अराजकतालाई रोक्न एमालेले टोलटोलमा टोल सुरक्षा समिति गठन गरिरहेको जानकारी दिए । यस्ता सुरक्षा समितिले आपराधिक गतिविधिको नियन्त्रण, त्यसमा संलग्नहरूलाई प्रहरीलाई बुझाउने र समुदायमा सुरक्षाको प्रत्याभूति दिने काम गर्ने बताए । उनले गैह्रसंवैधानिक तरिकाबाट विघटन गरिएको प्रतिनिधिसभाको पुनर्स्थापनाका लागि एमालेले व्यापक दबाब सृजना गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए । प्रतिनिधिसभाको पुनर्स्थापनामार्फत लोकतान्त्रिक पद्धतिलाई सही बाटोमा ल्याइने बताए । बैठकमा अध्यक्ष ओलीले कात्तिक २९ गतेको जागरणसभालाई झापामा भव्य रूपमा आयोजना गर्न निर्देशन दिएका छन् ।



