” ममाथि राजनीतिक षड्यन्त्र गरियो ” : उपसभामुख राना

Machchapuchchre Bank

Artharajniti  ~  प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेका मानव बेचबिखनका आरोपहरूलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै पूर्ण रूपमा खारेज गरेकी छन् । न्युजसँगको कुराकानीमा उनले संवैधानिक परिषद्मा नेपाली कांग्रेसको प्रतिनिधित्व नहुनु र आफ्नो विपक्षी भूमिकाका कारण यस्ता आरोपहरू लगाइएको बताएकी हुन् । उनले यी आरोपहरूले आफूलाई विचलित नगर्ने र अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘संवैधानिक परिषद्मा कांग्रेसको कुनै प्रतिनिधि नहुनु र म विपक्षी सदस्य भएकाले ठुला दलहरूले बहुमत सिद्ध गर्न मलाई हटाउन खोजेका हुन् ।’ नेकपा एमालेका सांसद योगेश भट्टराईले लगाएको ‘मानव बेचबिखन’को आरोपलाई उनले आधारहीन भएको जिकिर गरिन् । उनले भनिन्, ‘बेचिएका भनिएका बच्चाहरूले एक वर्षअगाडि नै मिडियामा आएर स्पष्ट पारिसकेका छन् । यो आरोप भट्टराईले बिना अध्ययन लगाउनुभएको हो ।’ आरोपहरूको खण्डनका लागि बच्चाहरू र अभिभावकहरू नै मुख्य प्रमाण भएको उनले बताइन् । ‘बच्चाहरू नै मिडियामा बोलेर स्पष्ट पारिसकेका छन् । नेताहरूले बच्चा वा अभिभावकसँग सोध्नुपर्छ, तर बच्चाहरूको गोपनीयतामाथि राजनीति गर्नु सङ्गिन अपराध हो,’ उनले थपिन्, ‘यो राजनीति नै हो, नत्र यो विषय पहिल्यै सुल्झिसक्थ्यो । उनले सरकारका गठबन्धन दलहरू कांग्रेस र एमालेले संवैधानिक परिषद्को नियुक्तिमा अप्ठ्यारो भएकाले आफूलाई हटाउन खोजेको दाबी गरिन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्