भदौका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर निर्धारण गरे

Machchapuchchre Bank

Artharajniti   ~  भदौ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर निर्धारण गरेका छन्। बैंकहरूले जारी गरेको  विवरणहरूअनुसार साउनको तुलनामा भदौमा औषत ब्याजदर घटेको छ। साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औषत ५.६० प्रतिशत बिन्दुका दरले ब्याज दिइरहेका बैंकहरूले भदौमा अधिकतम औषत ५.५७ प्रतिशत बिन्दुका दरले ब्याज दिने भएका छन्। यसैगरी साउन महिनामा संस्थागत मुद्दती निक्षेपमा ४.११ प्रतिशत बिन्दुले ब्याज दिएका बैंकहरूको अधिकतम औषत ब्याजदर भदौ महिनामा ३.९६ प्रतिशत बिन्दुमा झरेको छ। बैंकहरूले दिएको जानकारीअनुसार एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास, स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज र नेपाल एसबिआई बैंकले भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। प्रभु बैंकको भने त्यस्तो ब्याजदर बढेको छ।

साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिइरहेको स्ट्याण्डर्ड चार्टर्डले भदौमा अधिकतम ५.१३ प्रतिशत ब्याज दिँदैछ। प्रभु बैंकले भने यस्तो निक्षेपको अधिकतम ब्याजदर १.१ प्रतिशत बिन्दु बढाएर ५.३५ प्रतिशत पु¥याएको छ। व्यक्तिगत मुद्दती निक्षेपमा भदौ महिनामा एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ। यो बैंकले अधिकतममा ६.२५ प्रतिशतसम्म ब्याज दिने भएको हो। बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ। व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई स्थिर राख्नेमा सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेण्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, माछापुच्छ्रे र नेपाल बैंक छन्। यस्तो निक्षेपमा सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइज बैंकको अधिकतम ५ प्रतिशत रहेको छ। पछिल्लो समय नेपाल राष्ट्र बैंकले नै ब्याजदर घटाउन बैकहरूलाई नीतिगत रुपमै दबाब दिँदै आएको छ। बजारमा लगानी बढाउन भन्दै राष्ट्र बैंकले लिएको नीतिले पुँजी पलायनको खतरा बढिरहेको विज्ञहरूले बताउँदै आएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्