रुपन्देही–३ मा उपनिर्वाचन : फरक शैलीमा रास्वपा

Machchapuchchre Bank

Artharajniti  ~   रुपन्देही– ३ मा उपनिर्वाचनको माहोल बढ्न थालेको छ । दलहरूले उम्मेदवार छनोट लागि आन्तरिक र खुला रूपमा प्रक्रिया अगाडि बढाइरहेका छन् । राप्रपा सांसद दीपक बोहराको निधनपछि यहाँ कात्तिक १७ गने हुने उपनिर्वाचन हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक रूपमै आवेदन मागेर उम्मेदवार छनोटको नौलो तरिका अपनाएको छ भने सत्तारुढ दल नेकपा एमालेको पार्टीभित्र आकाङ्क्षीहरू बढेकाले बैठक आह्वान गरेर नाम सङ्कलन गरेको छ । अन्य पार्टीहरूले पनि उम्मेदवार छनोटमा तीव्र आन्तरिक गृहकार्य बढाइरहेका छन् । रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका र एक चरणको छलफलसमेत सम्मपन्न भइसकेको पार्टीले जनाएको छ । भदौको दोस्रो साताभित्र उम्मेदवार टुङ्ग्याउने तयारी गरेको रास्वपाले छनोटको मापदण्डअन्तर्गत विद्युतीय मतदानबाट ५० प्रतिशत (पार्टीभित्रका सदस्यहरूले मतदान गर्नेगरी) र नेतृत्व, शैक्षिक योग्यता र समावेशिताजस्ता आधारबाट बाँकी ५० प्रतिशत अंकभार तोकेको छ । एमालेले पनि आकाङ्क्षीहरूको नाम सिफारिस गर्न जिल्ला कमिटी बैठकबाट पदाधिकारीलाई  जिम्मा लगाएको पार्टी रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरले बताए । गैरेका अनुसार खिमलाल भट्टराई, शशि पौडेल, यज्ञजित शाह र  हरि अधिकारीले उम्मेदवार बन्ने इच्छा जनाएका छन् । र यिनै चार वटा नाम सिफारिस गरी प्रदेश र केन्द्रमा पठाउने जिम्मा जिल्लाका पदाधिकारीहरूलाई दिइएको उनको भनाइ छ । र एमाले जिल्ला कमिटीलाई भदौ १५ गतेभित्र उम्मेदवार सिफारिस गरिसक्नुपर्ने समयसीमा पनि तोकिएको छ । यता संघीय लोकतान्त्रिक मोर्चाबाट अलग भइसकेको जनमत पार्टीले पनि इच्छुक उम्मेदवारको विवरण बुझ्ने काम भइरहेकाले चाँडै सार्वजनिक गर्ने तयारीमा रहेको जनाएको छ । पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले केन्द्रीय सचिवालयमा सबै विवरण पुगेकाले छिट्टै उम्मेदवारको नाम तय गर्ने बताए ।

यसैगरी संघीय लोकतान्त्रिक मोर्चाका ६ घटकमध्ये पाँच वटाले नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट साझा उम्मेदवार बनाउँदै छ । नाउपाका संरक्षक रेशम चौधरीले डाक्टर उपाधि पाएका (विद्यावारिधि)लाई उम्मेदवार बनाउनुपर्ने मोर्चाको केही दिनअघि बसेको बैठकमा प्रस्ताव गरेका थिए । यसैगरी राप्रपाले ६ जनाको नाम सिफारिस गरे पनि स्वर्गीय दीपक बोहरा परिवारभित्रबाटै उम्मेदवार खोजेको छ । बोहराका परिवारका तीनमध्ये एक जनालाई उम्मेदवार बनाउनेगरी पार्टी जिल्ला कमिटीले आन्तरिक तयारी थालेको छ । राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले पनि बोहरा परिवारभित्रैकाले टिकट पाउने सम्भावना धेरै रहेको बताए । र सोहीअनुसार मिलेर आउन पार्टीले आग्रह गरेको उनको भनाइ छ । स्वर्गीय बोहराका गौरव र प्रज्वल गरी दुई छोराका साथै सोही परिवारभित्रबाटै स्वाति थापा पनि उम्मेदवारको लाइनमा छिन् । यता नेकपा माओवादी, एककृत समाजवादी, विप्लवलगायतले उम्मेदवार छनोटमा केही छलफल गरे पनि आन्तरिक रूपमा तीव्र प्रतिस्पर्धा भएको देखिँदैन । माओवादी रुपन्देहीका अध्यक्ष निर्मल जिसीका अनुसार पार्टीभित्र पूर्वमन्त्रीदेखि युवा नेताहरू उम्मेदवार बन्ने सक्ने क्षमताका भएकाले आन्तरिक रूपमा ठुलो प्रतिस्पर्धा छैन । एकीकृत समाजवादीले भने कुन उम्मेदवार मैदान लैजाँदा पार्टीको प्रभाव पर्छ भन्नेबारे अनौपचारिक छलफल भएको बताएको छ । यहाँ राष्ट्रिय जनमोर्चाले भने बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले उम्मेदवारी नै नदिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्