Artharajniti ~ नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले निराशै निराशामा बाँचेका नागिकलाई आशा जगाउन नेतृत्व बदल्नुपर्ने बताएका छन् । कतारस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए, एनसीसी) र नेपाल जनजाति महासंघद्वारा दोहामा आयोजित उज्यालो संवादलाई सम्बोधन गर्दै घिसिङले नेपालमा आशाको वातावरण बनाउन नेतृत्व परिवर्तन गरेर अगाडि जानुपर्ने बताएका हुन् । ‘नेपालमा केही हुन्न भन्ने निराशै निराश छरिएको छ । अहिलेको नेतृत्वमा विश्वासको संकट भयो । यहाँ राइट ठाउँमा राइट व्यक्ति नहुँदा अँध्यारो देखिएको हो । अब अँध्यारोलाई हटाएर उज्यालो नेपाल बनाउन नयाँ नेतृत्व ल्याउनुपर्छ,’ उनले भने, ‘नेपालमा अवसरै अवसर छ । देशका लागि आर्थिक अवस्था थेग्ने बलियो श्रमशक्ति हामीसँग छ । उनीहरूको अनुभव र पुँजीलाई उपयोग गरेर देशलाई बदल्न सक्ने हामीसँग अवसर छ । त्यसका लागि नेतृत्व बदल्नु जरुरी छ ।’ विदेशमा नेपाली समुदाय पार्टीका नाममा धेरै विभाजित भएको प्रति उनले चिन्ता व्यक्त गरे । उनले युवा नेतृत्व जन्माउन उज्यालो अभियान नेपाल सुरु गरेको पनि स्पष्ट पारेका छन् । ‘अब देशको सही नेतृत्व भएन भने झन निराशा छाउँछ । तपाईं हामी एक ठाउँमा उभिन सक्यौं भने देश बन्छ । तपाईंहरूको अनुभव र प्रतिबद्धताबाट हामी अगाडि बढ्न सक्छौं,’ उनले भने, ‘नेपालको सबै क्षेत्रमा भएको अँध्यारोलाई हटाएर उज्यालो नेपाल बनाउन सकिन्छ । उज्यालो नेपाल समृद्धिको बाटो हो । एकताबद्ध भएर युवा नेतृत्व जन्माउने बाटो हो । ’
“अब नेतृत्व बदल्नु जरुरी ” : कुलमान घिसिङ
