Artharajniti ~ कांग्रेस सभापति शेरबहादुर देउवाले दुई ठूला दलबीचको गठबन्धनको सरकार पूरै अवधि जाने दाबी गरेका छन् । एक सातासम्म चलेको बैठकमा सबै केन्द्रीय सदस्य र पदाधिकारीहरूले बोलिसकेपछि सभापति देउवाले सोमबार बैठकको समापन गर्दै गठबन्धनमा तलमाथि नहुने सन्देश दिएका हुन् । गठबन्धनको विषयमा कांग्रेस बैठकलाई चासोपूर्वक हेरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सन्देश दिने गरी देउवाले बाहिर गठबन्धन पूरा अवधि चल्ने बताएका थिए । उनले भने, ‘कांग्रेस पार्टी एमालेबीच गठबन्धन बनाएका छौं । यो गठबन्धन पूरा–पूरा समयसम्म जान्छ । दुईटा ठूला पार्टीका समस्याहरूलाई ठूला ठान्नु हुन्न । हामी बसेर समाधान गर्छौ । दुईटा ठूला पार्टीहरूको गठबन्धनको सरकार छ, यसले संविधान संशोधनको अब अघि बढाउछ ।’ खासगरी कांग्रेसमा नेता शेखर कोइराला आफ्नै पार्टीको नेतृत्वमा सरकार निर्माण गर्नुपर्छ भन्ने पक्षमा जोडबल गरिरहेको र पार्टी केन्द्रीय कार्यसमितिमासमेत केही सदस्यले न्यायालयको कार्यसम्पादन, अख्तियारको सक्रियता र केही राजनीतिक नियुक्तिको विषय जोडेर प्रधानमन्त्रीमाथि अविश्वास बढाइरहेका बेला देउवाले ओलीलाई सन्देश दिने गरेरै गठबन्धनको बचाउ गरेको नेताहरू बताउँछन् ।