Artharajniti ~ कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुवैले तयारी थालेका छन् । राप्रपाबाट निर्वाचन प्रतिनिधिसभाका सांसद दीपक बोहराको निधनपछि रिक्त भएको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । राप्रपाले बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट तयारीको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो । बैठकले जिल्ला कार्यसमितिलाई निर्वाचनका लागि आवश्यक तयारी थाल्न निर्देशन दिएको र सम्भावित उम्मेदवारहरूको नाम असार मसान्तभित्र केन्द्रीय कार्यालयमा पठाउन आग्रह गरिएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उपनिर्वाचनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले वरिष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरिएको छ । समितिमा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, सहायक महामन्त्री ताहिर अली, रुपन्देही प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलगायतलाई समावेश गरिएको श्रेष्ठले बताए । त्यसैगरी, रास्वपाले पनि रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया अगाडि बढाएको छ । बिहीबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले योग्य उम्मेदवार छनोट गर्न प्रस्तावित विधिमाथि छलफल गरेको छ । पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार उक्त विधिमार्फत आइतबार बस्ने सचिवालय बैठकले उम्मेदवार छनोट प्रक्रिया अन्तिम निर्णयमा पुर्याउनेछ ।
रुपन्देही ३ : राप्रपा र रास्वपाले थाले उपनिर्वाचनको तयारी
