Artharajniti ~ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु आज ‘निलो रिबन’ लगाएर संसद भवन पुगेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा विरोध गरिरहेका उनीहरु आज निलो रिबन लगाएर गएका हुन् । रास्वपाको पार्टीको रङ पनि निलो नै हो । र, रास्वपाले निलो क्रान्तिको वकालत गर्दै आएको छ । आजको ‘निलो रिबन’को प्रतीकलाई रास्वपाले मानव तस्करीविरुद्धको विश्वव्यापी अभियानको रुपमा व्याख्या गरेको छ । ‘मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’को प्रतीकले जनाउँछ’, रास्वपाका सांसद मनिष झाले भने । रास्वपाले विरोध जनाए पनि आइतबार र सोमबार सभामुख देवराज घिमिरेले संसदको कारबाही अघि बढाएका थिए । आज पनि संसद नियमित जस्तै अघि बढाउने तयारी गरिएको छ । सभामुख आज पनि छलफलमै भएकोले १ बजेका लागि तय भएको संसद बैठक भने अझै सुरु भएको छैन ।
‘निलो रिबन’ लगाएर संसद पुगे रास्वपा सांसद
