Artharajniti ~ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसँगै थप ३ ठाउँमा छापा मारेको छ । ट्राभल एजेन्सी र एउटा मेनपावर सञ्चालकको कार्यालयमा छापा मारेर कागजात र ‘डिभाइस’ जफत गरिएको अख्तियारका एक जना उच्च अधिकृतले बताए । बिचौलियासँग मिलेर भिजिट भिसामा विदेश जानेहरूबाट रकम असुल्ने गरेको आरोपमा नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराई छुटेका छन् । उनलाई बिहीबार उपस्थित हुनेगरी हाजिर जमानीमा रिहा गरिएको हो । अध्यागमनका कर्मचारीले बिचौलियासँग मिलेर ‘कोडवर्ड’ प्रयोग गरेर रकम असुल्ने गरेको सुराकको आधारमा अख्तियारले त्यसबारे अनुसन्धान गरिरहेको छ । अख्तियारले भट्टराईको मोबाइल सहितका डिजिटल डिभाइस बरामद गरेको छ । अख्तियारका एक जना उच्च अधिकृत भन्छन्, ‘आज अध्यागमन कार्यालय सहित ४ ठाउँमा छापा मारिएको छ ।’ ट्राभल एजेन्सीका सञ्चालक खगेन्द्र सुवेदीको कार्यालय र एसकेआर मेनपावर सञ्चालक बालकृष्ण पौडेलको कार्यालयमा अख्तियारले छापा मारेको छ । ती अधिकृत भन्छन्, ‘ट्राभल एजेन्सी र मेनपावर कम्पनीसँग मिलेर अध्यागमन कार्यालयका कर्मचारीले बदमासी गरेको देखिन्छ ।अध्यागमन कार्यालयसहित चार वटा ठाउँमा फेला परेको कागजात र डिजिटल डिभाइज अख्तियारले अनुसन्धानको लागी जफत गरेको छ ।
अध्यागमनसहित थप ३ ठाउँमा अख्तियारको छापा
