Artharajniti ~ काठमाडौ भित्रिने सडकको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्ड १५ दिनसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ । काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक खण्ड बन्द गरेर निर्माण कार्य गरिने भएको हो । यसअघि यो खण्ड रातमा बन्द गरेर काम हुँदै आएकोमा अब दिँसोको समयमा बन्द गरेर काम गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा काम गर्न अनुमति दिइएको उनले बताए । नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले सूचना निकालेर काठमाडौँबाट छुट्ने गाडी नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाण्डौतर्फ आउनेलाई खानीखोलामा रोकिने उल्लेख गरेको छ । सडकमा काम हुने समयमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।
नागढुङ्गा–नौबिसे सडक १५ दिनसम्म दिउँसो बन्द हुने
