सत्ता गठबन्धनमा समस्या, कांग्रेसले खोज्दै छ बहिर्गमन ?

Machchapuchchre Bank

Artharajniti  ~   सत्ता गठबन्धनमा प्रस्ट रूपमा खटपट देखिन थालेको छ । गठबन्धनभित्रको बेमेलकै कारण नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा समेत ढिलाइ हुँदै आएको छ । गठबन्धन सहज रुपमा अघि नबढेको नेपाली कांग्रेसका नेता तथा प्रवक्ता प्रकाशशरण महत स्वीकार गर्छन् । सोमबार नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नम्बर ३ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धनमा आफूहरूका धेरै असन्तुष्टि रहेको बताए । उनले भने, ‘गठबन्धनमा अर्काको प्वाइन्ट अफ भ्युलाई अन्डरस्ट्यान्ड हुनुपर्छ, अहिले गभर्नरको कुरा छ । हामीले एउटा प्रोफेसनल मान्छे आओस् भनेका छौँ । अन्योल छ, यसले राम्रो सन्देश गएको छैन ।’ कांग्रेस प्रवक्ताले मात्र सत्ता गठबन्धनमा समस्या देखेका होइनन्। कांग्रेस महामन्त्री गगन थापाले समेत पार्टीभित्र उकुसमुकुस रहेको बताए । सोमबार काठमाडौँमा सुवास घिमिरेद्वारा लिखित बीपी कोइरालाको जीवनकथामा आधारित पुस्तक ‘सान्दाजु’को लोकोर्पण समारोहमा उनले भने, ‘नेपालको सबैभन्दा ठुलो पार्टी हो हामी अहिले । हामी सबैतिर सरकारमा छौँ । हामी नभएको ठाउँ नै छैन । पालिकामा, वडामा, संघमा सरकार, प्रदेशमा सरकार । अहिले हामीले बनाएका प्रधानमन्त्री र अब हुनेवाला प्रधानमन्त्री पनि हाम्रो । अब सबै हाम्रो । अब गभर्नर हाम्रो, ऊ हाम्रो, जताततै हाम्रो । तर खुसी हुनुपर्ने नि त कांग्रेस । सबै हाम्रो भएको वेलामा किन खुसी नभएको त ? हामीले खोजेको त्यो होइन रहेछ ।’

उनी  र महत दुबै नेताको भनाइले सत्ता गठबन्धनमा समस्या उत्पन्न हुन थालेको प्रस्ट बुझिन्छ । नेपाली कांग्रेस राष्ट्रिय शक्ति भए पनि सरकारको नेतृत्वबाट बाहिरै बस्नुपरेको अवस्थालाई महामन्त्री थापाले त्यहाँ बताएका थिए । साथै उनले देखिएको समस्या समाधान गर्ने जिम्मेवारी कांग्रेसको भएको बताएका थिए । उनको यस भनाइले जतिसक्दो चाँडो कांग्रेस नै सत्ताको नेतृत्वमा जान चाहन्छ । गभर्नर नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवाबिच सहमति नहुँदा सोमबार मन्त्रिपरिषद्को बैठकसमेत बस्न सकेको थिएन । कांग्रेसका विभिन्न तहका बैठकमा पछिल्लो समय गठबन्धन सही तरिकाले चल्न नसकेको भन्दै कुरा उठ्नसमेत थालेको छ । उक्त पार्टीका नेताहरूले नै यसरी सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आउनुले के गठबन्धन खतरामा पर्न लागेको त होइन ? प्रश्न उब्जिन थालेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्