Artharajniti ~ भारतले मंगलबार राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेपछि दुई देशबीचको तनाव उच्च बिन्दुमा पुगेको छ । भारतले ‘अप्रेसन सिन्दुर’ नाम दिइएको उक्त सैन्य कारबाही स्थानीय समयानुसार राति १ः०५ देखि १ः३० बजेसम्म सञ्चालन गरेको थियो । दुवै देशबीच भएको सैन्य भिडन्तका कारण हालसम्म ४१ जना सर्वसाधारणको ज्यान गएको छ भने ८९ जना घाइते भएका छन् । पाकिस्तान सेनाका अनुसार भारतको आक्रमणबाट पाकिस्तानमा २६ जनाको मृत्यु भएको छ र ४६ जना घाइते भएका छन् । उता भारतले पाकिस्तानको जवाफी आक्रमणमा १५ भारतीय सर्वसाधारणको ज्यान गएको र ४३ जना घाइते भएको जनाएको छ । युद्धको स्थितिमा परिणत हुन सक्ने चिन्तासहित अन्तर्राष्ट्रिय समुदायले भारत र पाकिस्तान दुवैलाई संयमता अपनाउन आह्वान गरेका छन् । रुसले विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै भनेको छ, “रुस सबै प्रकारका आतंकवादको निन्दा गर्दछ र आतंकवादविरुद्ध लड्न संयुक्त प्रयासको आवश्यकता छ । आशा छ, भारत र पाकिस्तानबीचको मतभेद शान्तिपूर्ण तरिकाले समाधान हुनेछ ।” बेलायती विदेशमन्त्री डेभिड लामी, फ्रान्सका विदेशमन्त्री जिन–नोएल ब्यारोट, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि भारत र पाकिस्तानबीच कूटनीतिक वार्ताको माध्यमबाट समस्या समाधान गर्न अपिल गरेका छन् । यसैगरी, संयुक्त राष्ट्रसंघ, युएई, जापान, चीन, टर्की र इरानले पनि पछिल्लो सैन्य तनावप्रति चिन्ता व्यक्त गर्दै दुवै मुलुकलाई धैर्य र संयमता अपनाउन आग्रह गरेका छन् ।
भारत–पाकिस्तान तनाव चुलियो, संयमता अपनाउन अन्तर्राष्ट्रिय समुदायको आग्रह
