Artharajniti ~ सरकार र सत्ता गठबन्धनलाई लिएर बाहिर भइरहेका आशङ्का र गलत प्रचारलाई कामबाटै जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहमत भएका छन् । दुवै दलका नेताहरूका अनुसार गठबन्धन र सरकारबारे फैलाइएको भ्रम निस्तेज पार्ने, गभर्नर नियुक्ति जतिसक्दो चाँडो गर्ने, सङ्क्रमणकालीन न्याय (टीआरसी) प्रक्रिया समयमै टुङ्ग्याउने र शिक्षक आन्दोलन लगायतमा भइरहेका प्रगति तथा अवरोधबारे छलफल भएको थियो । सत्ता समीकरण फेरबदल हुने र सरकार परिवर्तन हुने भनेर सत्तापक्षदेखि प्रतिपक्षी दलका नेतासम्मले दिएको अभिव्यक्तिले राजनीतिक तरङ्ग उत्पन्न भइरहेका बेला प्रधानमन्त्री ओली र सभापति देउवाबिच बालुवाटारमा करिब २ घण्टाभन्दा बढी छलफल भएको हो । छलफलमा मुख्यगरी चार विषयमा चर्चा भएको बताइएको छ । भेटवार्तामा ओली र देउवाका अलावा कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक र उपप्रधानमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलसमेत सहभागी थिए ।
त्यसक्रममा सरकारबारे बढ्दो आशङ्का कम गर्न दुवै पक्षले उपयुक्त भूमिका निर्वाह गर्नुपर्नेमा नेताहरू सहमत भएका हुन् । शीर्ष नेताबिच विशेषगरी राजनीतिक वृत्तमा फैलाइएका हल्लाका सम्बन्धमा छलफल हुनका साथै तत्काल सरकारले गर्नुपर्ने कामबारे कुराकानी भएको मन्त्री पौडेल र लेखकले बताएका छन् । ‘खासगरी समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल केन्द्रित थियो । पछिल्लो पटक सरकार ढल्छ कि ढल्छ भनेर भएका प्रचार र छरिएका भ्रममा सत्यता छैन र यसलाई चिर्नेगरी दुई नेताबिच छलफल भएको हो’, पौडेलले भने, ‘गठबन्धनमा कुनै समस्या छैन ।’ त्यस्तै गृहमन्त्री लेखकले सरकारबारे कन्फ्युजन क्रियट गरिएकाले त्यसलाई चिर्दै अघि बढ्न र सहमतिहरू कार्यान्वयन तथा समस्या सम्बोधन गर्न दुवै नेता सहमत रहेको बताए । लेखकले फैलाइएका भ्रमलाई सरकारले काममार्फत नै जवाफ दिनुपर्नेमा दुवै नेता सहमत भएको प्रस्ट पारे ।कांग्रेस नेतासमेत रहेका गृहमन्त्री लेखकले गभर्नरको सेलेक्सन कमिटीका सदस्य पूर्वगभर्नरले राजीनामा दिएको अवस्थामा त्यो कमिटीलाई पूर्णता दिएर प्रक्रिया अघि बढाउन दुवै नेता सहमत भएको प्रस्ठ पारे । शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन सिफारिस कमिटीको सिफारिसका आधारमा अघि बढ्न र शिक्षकको आन्दोलनबारे गम्भीरतापूर्वक छलफल भइरहेकाले यो समस्या अब धेरै लम्ब्याउन नहुने पक्षमा प्रधानमन्त्री र सभापति देउवा एकमत रहेको समेत बताए ।