बैङ्क र व्यवसायीबिचको सम्बन्ध

Machchapuchchre

Artharajniti  ~ नेपालमा औद्योगिक विकासको प्रारम्भसँगै बैङ्किङ वित्तीय क्षेत्रको सुरुवात भएको हो । १९९३ सालमा मुलुककै पहिलो उद्योग विराटनगर जुट मिलको स्थापना भयो । सोलगत्तै १९९४ सालमा नेपालको पहिलो बैङ्कका रूपमा नेपाल बैङ्क लिमिटेडको स्थापना भयो । यसरी हेर्दा पनि नेपालमा उद्योग व्यवसायको विकास एवं विस्तार भएसँगै बैङ्किङ क्षेत्रको विकास भएको हो । उद्योग–व्यवसायको विकासविना बैङ्कहरूको पनि विकास एवं फैलावट सम्भव छैन भन्ने तथ्य स्पष्ट छ, तर नेपालमा ५० को दशकदेखि युवाहरूको विदेशगमन तीव्र भयो । ०५२ सालदेखि माओवादी शान्ति सम्झौतामा आउँदासम्म नेपालमा कुनै नयाँ उद्योगहरू खुलेनन् । बरु भएका उद्योग–व्यवसाय पनि बन्द भए । यद्यपि माओवादी जनयुद्धले मुलुकमा केही दिएन भन्ने होइन, बहुआयामिक हिसाबको संवैधानिक परिवर्तन जनयुद्धकै जगबाट आएका हुन्, त्यसलाई नजरअन्दाज गर्न मिल्दैन । जनयुद्ध कालमा उद्योगहरु बन्द हुनु र नयाँ नखुल्नुको असर समग्र अर्थतन्त्रमा प¥यो । फलस्वरूप अहिले कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान चार प्रतिशतमा सीमित छ । ०५० को दशकबाट बिदेसिन सुरु गरेका युवाले पठाएको रेमिट्यान्सका भरमा अर्थतन्त्र टिकेको छ । अर्थतन्त्रमा रेमिटयान्स्को योगदान २९ प्रतिशत पुगिसकेको छ ।

नेपालमा बैङ्क र व्यवसायीबिचको सम्बन्ध कस्तो छ भन्ने जान्न बैङ्कहरूको ब्याजदरलाई लिएर बेलाबेला व्यवसायीले गरेको आन्दोलनलाई नियाल्दा थाहा हुन्छ । व्यवसायीले बेलाबेला बैङ्कहरूको ब्याजदर चर्को भयो भन्दै घटाउन प्रधानमन्त्रीलाई नै हार–गुहारेर गरिरहेका हुन्छन् । खासगरी बैङ्क र व्यवसायीबिच प्रगाढ सम्बन्ध नभएकै कारण त्यो आन्दोलन भएको थियो । यी दुई पक्षबिच अत्यन्त सौहार्दपूर्ण सम्बन्ध हुँदा मात्र उद्योग क्षेत्रले प्रगति हासिल गर्न सक्छ । उद्योग क्षेत्रको प्रगति हुँदा मात्रै उनीहरूको बैङ्कसँगको कारोबार बढ्ने र बैङ्कको पनि नाफा बढ्ने अवस्था सिर्जना हुन्छ; तर यहाँ लय मिलेको छैन । बैङ्कहरूले दीर्घकालीन सोच राख्न सकेका छैनन् । अल्पकालीन उपलब्धि र नाफामा रमाइरहेका छन् । उत्पादनमूलक उद्योगहरूमा सहुलियत ब्याजदरको कर्जा प्रवाह गरेर स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउनेबारे सोचेकै छैनन् । त्यो सोच हुँदा मात्रै बैङ्कहरूको मुनाफा र गतिविधि दीर्घकालमा चलायमान हुन सक्छन् ।ब्याजदर बढी भएकै कारण नयाँ उद्योग कलकारखाना खुल्ने क्रम बढ्न सकेको छैन । बढी ब्याजदर हुँदा उत्पादन लागत बढ्ने र उत्पादित वस्तुको मूल्य बढी हुने हुन्छ । त्यसको आखिरी मर्का पर्ने उपभोक्तालाई हो । त्यसकारण सन्तुलित ब्याजदर कायम गरेर बैङ्कहरूले उद्योगी–व्यवसायीसँगको सम्बन्ध प्रगाढ बनाउन जरुरी छ । बैङ्कहरूको ब्याजदर ५–६ प्रतिशतभन्दा माथि जानुहुदैन । बैङ्कहरूको लगानी अनुत्पादनमूलक क्षेत्रमै घुमिरहेको छ, त्यसलाई क्रमभङ्ग गरेर व्यवसायी र बैङ्कबिच सौर्हाद सम्बन्ध विकास हुनुपर्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्