इजराइलद्वारा युद्धविराम अस्वीकार

Machchapuchchre

Artharajniti  ~  इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गरेका छन् । “युद्धविराम गर्नु भनेको हमास र आतङ्कवादसँग आत्मसमर्पण गर्नु हो”, युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको माग अस्वीकार गर्दै उनले भनेका छन् ।“यस्तो हुने छैन”, विदेशी पत्रकारहरूसँग कुरा गर्दै उनले भनेका छन्, “इजराइलले विजय नभएसम्म यो लडाइँ लडिरहने प्रतिज्ञा गरेको छ ।” अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले आफ्नो भूमिमा आश्चर्यजनक हमला गरेपछि इजराइलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । हमासले गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय जना मारिएका थिए भने दुई सय ३० नागरिकलाई बन्धक बनाएको थियो । त्यसयता इजराइलले हमास शासित गाजाविरुद्ध ठूलो हवाई बमबारी अभियान चलायो । गाजाभित्र भने लामो समयदेखि अपेक्षित स्थल युद्ध भइरहेको थियो ।
सेनाले उत्तरी गाजा क्षेत्रमा इजराइली पैदल सेनाको तस्बिर जारी गरेको छ । सोमबार प्रत्यक्षदर्शीहरूले गाजाको बाहिरी भागमा ट्याङ्कहरू रहेको बताएका छन् ।  इजराइलले २४ घन्टामा छ सय लक्ष्यमा निशाना बनाएको बताएको छ । यो अहिलेसम्मको सबैभन्दा ठूलो बमबारीमध्येको एक हो । सेनाले हमासबाट हराइरहेकी एक महिलालाई बचाएको बताएको छ । प्रधानमन्त्री नेतान्याहूले युद्धले हमासलाई ‘समाप्त’ पार्ने वाचा गरेका छन् । उनका अनुसार हमास समाप्त भएपछि यस्ता समूहका हमलाहरू दोहोरिने सम्भावना हुँदैन । इजराइलले अक्टोबर ७ मा हमास र अन्य प्यालेस्टिनी लडाकू समूहले बन्धक बनाएका बन्धकहरूलाई मुक्त गर्ने पनि प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घले बारम्बार मानवीय युद्धविरामको आह्वान गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्