अर्थ राजनीति ~ मोहन वैद्यको क्रान्तिकारी र बाबुराम भट्टराईको वैज्ञानिक धारमाथि टेकेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी पार्टीलाई जनतामाझ लोकप्रिय बनाए । वैद्यको उग्र क्रान्तिकारी धारलाई समातेर वि.सं. २०५२ सालमा प्रचण्डले ‘जनयुद्ध’ को उद्घोष गरेका थिए । जसमा बाबुराम भट्टराईको समर्थन थियो । एकपटक ‘क्रान्ति’ गर्नैपर्छ भन्ने सोचबाट प्रेरित भएका प्रचण्ड, बाबुराम र वैद्यबीचको सहकार्य दुई दशकमा पाँच टुक्रामा विभाजित भयो । दुई दशकमा पाँच टुक्रा बनेको माओवादी तीन दशक नपुग्दै त्यसको दोब्बर अर्थात दश टुक्रा बनेको छ । जनयुद्धकै जगमा गणतन्त्र, संविधान र संघीयता ल्याएको हुंकार छाड्ने माओवादी पार्टीको नेतृत्व फेर्न आठौँ महाधिवेशनसम्मै दश टुक्रा बनेको हो । आठौँ महाधिवेशनसम्म गणतन्त्र ल्याएको एक नम्बर शक्ति माओवादी अहिले प्रचण्डको व्यक्तिगत कम्पनी जस्तो बनेको छ । अनि माओवादी नेताहरू अध्यक्ष प्रचण्डका सहयात्री नभई अनुयायीजस्ता देखिएका छन् । प्रचण्डका खास सहयात्री अहिले आ–आफ्नो पार्टी खोलेर बसेका छन् भने कतिपय अर्को पार्टीमा लागेका छन् । पहिलो संविधानसभा चुनावबाट गणतन्त्र घोषणा गर्न सफल भएको माओवादी आन्तरिक रुपमा भने टुक्रिन शुरु भयो । प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्दा उनका सहयात्री वैद्य र बाबुरामले निर्णायक अन्तरसंघर्ष थाले । गणतन्त्र ल्याएकै वर्षमा माओवादी देशको पहिलो शक्ति थियो । तर तोकिएको समयमा संविधान निर्माण गर्न असफल भयो । त्यही असफलताले माओवादी अधोगतिमा लाग्यो । वि.सं. २०६८ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री बनेपछि उग्र क्रान्तिकारी धार समातेका वैद्य माओवादीबाट विभाजित भए । संविधान जारी भएको केही दिनमै प्रचण्डका अर्का सहयात्री डा. बाबुराम भट्टराईले पनि माओवादी पार्टी परित्याग गरेको घोषणा गरे । उनले प्रचण्डको नेतृत्वमा रहेको माओवादी ‘दलाल’ पार्टी भएको भन्दै नयाँ शक्ति पार्टी खोल्ने घोषणा गरेका थिए । माओवादीको त्यो फुटले प्रचण्डको विशाल पार्टीमा पहिरो गयो । तत्कालीन उपाध्यक्ष वैद्य, महासचिव रामबहादुर थापा बादल, नेत्रविक्रम चन्द विप्लव, पम्फा भुसाल लगायतका नेताले माओवादी परित्याग गरेर नेकपा माओवादी गठन गरे । प्रचण्डको कार्यशैलीले जनयुद्धको उपलब्धिमाथि धोका भएको भन्दै वैद्य प्रचण्ड माओवादीबाट अलग्गिएका थिए । त्यो फुटले दोस्रो संविधानसभा चुनावमा प्रचण्डको माओवादी तेस्रो पार्टीमा झ¥यो । वैद्य माओवादीले भने दोस्रो संविधानसभा चुनाव बहिष्कार गरेको थियो । चुनावबाट तेस्रो शक्ति बनेको माओवादीकै जोडबलमा वि.सं. २०७२ सालमा संघीयता लागू गर्दै नेपालको नयाँ संविधान जारी भयो । तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गरेरै छाड्यो ।
वि.सं. २०७४ सालको चुनाव अगाडिसम्म प्रचण्ड, बाबुराम, वैद्य र विप्लव गरेर माओवादी औपचारिक रुपमै चार टुक्रा बन्यो । बादल मूल पार्टीमा फर्किए पनि गुटको नेतृत्व गरेकाले माओवादीको पाँचौ टुक्रा बनेका थिए । चुनावपछि एमालेसँग एकता गरेर माओवादी नेपाल कम्युनिस्ट पार्टी बन्यो । अध्यक्षमा केपी शर्मा ओलीसँग प्रचण्ड पनि रहे । तर त्यो एकताले माओवादीका लागि चुनाव जित्ने ‘अस्त्र’ बने पनि क्रान्तिकारी शक्तिमा क्षयीकरणको उत्प्रेरक बन्यो । एमालेसँग एकतामा रहँदा माओवादी पार्टीमा प्रचण्ड र बादल गुट छुट्टियो । सर्वोच्चको आदेशले एकतालाई अवैध ठहर गर्दै पुरानै अवस्थामा फर्काईदिएपछि प्रचण्डकै नेतृत्वमा माओवादी पार्टी ब्युँतियो । तर बादल एमालेमै बसे । बादलसँगै मणि थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतका नेताहरू पनि एमालेकै नेता भएर बसिरहेका छन् । जुन माओवादीको एउटा क्रान्तिकारी खेमा एमालेमै समाहित भयो । नेकपा फुटेर माओवादी ब्युतिँएपछि प्रचण्डको नेतृत्वमा मूल पार्टी जीवित बन्यो । तर, प्रचण्डसँगै एमालेसँगको एकतामा नगएका गोपाल किराँतीले नेकपा माओवादी केन्द्र गठन गरे । उनी अहिले प्रचण्डको पार्टीमा गएका छैनन् । छुट्टै माओवादी टुक्रा बनेर बसिरहेका छन् । यस्तै माओवादीबाट टुक्रिएको अर्को टुक्रा हो, पूर्व माओवादी लडाकु समूह । जो पछिल्लो समय अवसरको खोजीमा छन् । यो समूह बेला बेला एमालेसँग नजिकिने गरेको छ । माओवादीको एउटा समूह एमालेमै रहेका कारण अवसरका लागि उनीहरू ‘यताउता’ गरिरहेका छन् । यसरी हिजोको विशाल पार्टी भनिने, जनयुद्धको रापतापबाट निस्केको पार्टी आठौँ महाधिवेशनसम्म आइपुग्दा १० टुक्रा बनेको छ । अनि त्यो १० टुक्रा भइसकेको मूल पार्टीको नेतृत्व प्रचण्डले नै गरिरहेका छन् । प्रचण्डको मनोमानीविरुद्ध विद्रोह गरेका नेताहरूले पार्टी छाडेपछि हिजोको नेकपा माओवादी आजको ‘प्रचण्ड कम्पनी’ हो । जसको आठौँ महाधिवेशन काठमाडौँमा चलिरहेको छ ।