महाधिवेशनको तयारीमा जुट्यो कांग्रेसको निर्वाचन समिति

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसमा क्रियाशील सदस्यता टुंग्याउन अन्तिम रस्साकस्सी चलिरहेका बेला निर्वाचन समिति भने महाधिवेशनको तयारीमा जुटेको छ । मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको कांग्रेसले आइतबार साँझसम्म क्रियाशील सदस्यताको टुंगो लगाएको छैन । सभापतिले क्रियाशील सदस्यता रुजु गरिसकेपछि अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउनुपर्छ, त्यसपछि मात्रै कांग्रेसमा महाधिवेशन प्रक्रिया शुरु हुन्छ । तर पछिल्लो पटक संशोधित तालिकाअनुसार वडा अधिवेशन भदौ १८ मा गर्नुपर्ने कार्यतालिका छ । स्थानीय अधिवेशन गर्न १२ दिन मात्र बाँकी हुँदा पनि क्रियाशील सदस्यको अन्तिम नामावली निर्वाचन समितिले पाएको छैन । क्रियाशील सदस्यता कुर्दा अधिवेशन कार्यतालिका नै प्रभावित हुने भएपछि अन्य तयारी अगाडि बढाइएको निर्वाचन समिति सदस्य तेज रावलले बताए । ‘हामीले अहिलेसम्म क्रियाशील सदस्यताको सूची पाएका छैनौं । तैपनि तोकिएकै समयमा अधिवेशन गर्न सकियोस् भनेर अरु कामलाई अगाडि बढाएका छौं,’ उनले भने । निर्वाचन समितिले निर्वाचन निर्देशिका, नियमावली, विधान र प्रमाणपत्र छपाईको काम शुरु गरिसकेको छ । करिव आठ हजारप्रति निर्देशिका, नियमावली र विधान छपाईको काम भएको छ भने तल्लो तहका निर्वाचित पदाधिकारी र सदस्यका लागि तीन लाख भन्दा बढी प्रमाणपत्र छपाईको काम पनि भइरहेको निर्वाचन समितिले जनाएको छ । साउन ३० को केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यताको बाँकी काम भदौ २ सम्म टुंग्याउने र भदौ ३ गते सभापतिलाई बुझाउने निर्णय गरेको थियो । त्यस्तै कांग्रेसले भदौ १ सम्म निर्वाचन निर्देशिकामा आवश्यक परिमार्जन गर्ने निर्णय गरेको थियो । भदौ १० सम्म ७७ वटै जिल्लामा निर्वाचन अधिकृतसहित आवश्यक कागजात पठाइसक्ने सहमति गरेको कांग्रेसले क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकामा सहमति जुटाउन ढिलाइ गरेको हो ।निर्वाचन समितिका अनुसार अब भदौ १४ सम्म प्रत्येक जिल्लामा निर्वाचन अधिकृत खटाइसक्ने तयारी छ । ‘समयमै जिल्लामा कसरी कागजात पुर्‍याउने र त्यहाँबाट वडातहमा कसरी वितरण गर्नेबारे अहिले हामी छलफलमा छौं,’ समितिका एक सदस्यले भने, भौगोलिक विकटता भएका क्षेत्रमा समयमै मतदान अधिकृत खटाउनुपर्ने र कागजात पुर्‍याउनुपर्ने चुनौती हामीलाई छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्