” निजी क्षेत्रलाई विश्वासमा नलिई आर्थिक समृद्धि असम्भव ” : उद्यमी शेखर गोल्छा

Machchapuchchre

अर्थ राजनीति  ~  उद्यमी शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघ नेतृत्वमा पुगेको करिब आठ महिना भएको छ । कार्यकारिणी समिति सदस्य, एसोसिएट उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै महासंघ नेतृत्वमा पुगेका गोल्छा आफ्नो व्यवसायमा जस्तै महासंघ राजनीतिमा पनि अनुभवी र परिपक्व मानिन्छन् । महासंघमा आफ्नो पारिवारिक अग्रजहरूको योगदान रहेको उल्लेख गर्दै नेतृत्वका लागि दृढता देखाएका गोल्छा निजी क्षेत्रका अन्य संगठनहरू नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतसँग सहकार्यका कारणले पनि लोकप्रिय छन् । कोभिड महामारीका कारण समयमै साधारणसभा हुन नसक्दा ढिलो गरी महासंघ नेतृत्व सम्हालेका गोल्छाले आफ्नो कार्यकाललाई गतिशील बनाउन र भोलिका दिनमा महासंघको गन्तव्य देखाउने दस्तावेज ‘भिजन पेपर’ सार्वजनिक गरेका छन् । महासंघमा ठूला व्यावसायिक घराना र युवापुस्ताको आकर्षण घटिरहेका बेला आफ्नो सशक्त उपस्थिति देखाउन सफल गोल्छासँग नयाँ सरकार गठनपछि निजी क्षेत्रका अपेक्षा, कोभिड महामारीपछिको आर्थिक पुनरुत्थानलगायतका विषयमा कुरा गर्दा यस्तो बताउछन् उद्यमी गोल्छा :

नयाँ सरकार गठन भइसकेपछि त्यस्तो नयाँ अनुभूति हुने खालको कुनै काम पनि भएको छैन, हामी सबैले अनुभव गरेकै कुरा हो । देशलाई समृृद्धितर्फ लैजानका लागि निजी क्षेत्रको लगानी आवश्यक छ र चाहिन्छ । निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म लगानी र आर्थिक विकास समृद्धि आउन सक्दैन । नयाँ सरकार गठन भएपछि सम्माननीय प्रधानमन्त्री र माननीय अर्थमन्त्रीज्यूसँग निजी क्षेत्रको तर्फबाट भेटिसकेका छौं । हालसम्म सरकारसँगको सहकार्यबाट सरकार निजी क्षेत्रमैत्री भएको पाएका छौं । तर, निजी क्षेत्रमैत्री हुँदैमा हाम्रो समस्या समाधानका लागि सरकारसँग त्यो तहको इच्छाशक्ति र प्रतिबद्धता छ कि छैन, हेर्न बाँकी नै छ । अघिल्लो सरकारले बजेटमा र सार्वजनिक रूपमा राखेका ६० प्रतिशत विषयलाई बजेटमा समावेश गरेको छ । त्यसको कार्यान्वयन पक्ष र यसका लागि नीति निर्देशिका आउनै बाँकी थियो । हामीले अहिले वर्तमान अर्थमन्त्रीज्यूसमक्ष भेटेर बाँकी रहेको ४० प्रतिशत पनि समावेश गर्न सकियो भने हामी निजी क्षेत्रका लागि लगानीको वातावरण राम्रै बन्थ्यो भनेर कुरा राखेका छौं । अहिले सरकारले पूर्णता पाएको पनि छैन् । हामीसँग सीधा र जनसम्पर्क हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि हालसम्म मन्त्रीविहीन रहेको छ । अन्य मन्त्रालयमा पनि मन्त्रीको नियुक्त नभएकाले गर्दा हालसम्मको अवधिमा पर्ख र हेरको अवस्थामा नै छौं । मन्त्रीमण्डलले पूर्णता पाएपछि मात्र हामीले हाम्रा कुराहरू राख्ने र लगानीमैत्री र उद्योग–व्यवसायमैत्री नीतिमा भएका व्यवस्था तथा नीतिमा गर्नुपर्ने हेरफेरमा भूमिका खेल्ने नै हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्