अर्थ राजनीति ~ नेपाल दुरसञ्चार प्राधिकरणले एमडिएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) लागू गर्न प्राविधिक काम भइरहेको बताएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अहिले चलिरहेको मोबाइल फोनलाई निर्वाध चल्न दिने गरी काम भइरहेको बताउनुभयो । साउन महिनाभरी मोबाइल प्रयोगकर्ताले आईएमईआई नम्बर दर्ता गराउन समय दिने तयारी गरेको बताउनुभयो । प्राधिकरणका अध्यक्ष खनालले कमसल, गुणस्तर नभएका र अवैध बाटोबाट किनिएका मोबाइल नचलाउन आग्रह गर्नुभयो । साउन महिना पछि भने आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेटले काम नगर्न सक्ने भएकोले दर्ता गर्न अनुरोध गर्नुभयो । आगामी साउन १ गते देखि मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम लागू हुने भएकाले अवैध रूपमा भित्रिएका मोबाइल सेट नचल्ने हुन सक्छ । नेपाल सरकारले आगामी वर्षको बजेट सार्वजनिक गर्दा एमडिएमएस लागू गर्ने घोषणा गरेको थियो । एमडिएमएस लागू भएपछि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेट चल्दैनन् । अर्थात् यस्ता मोबाइलमा सिम कार्ड राखे पनि काम गर्दैन । मोबाइल व्यवसायीले एमडिएमएस लागू भएपछि नेपालमा अवैध मोबाइल नै नरहने बताएका छन् । मोबाईल फोन आयातकर्ता संघका अध्यक्ष समेत रहनुभएका नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक कुमार मलहोत्राले एमडिएमएस प्रणाली लागू भएपछि मोबाइल कारोबार पारदर्शी हुने बताउनुभयो । करिब ४० अर्बको मोबाइल कारोबारमा १३ अर्बको कारोवार अवैध हुने बताइन्छ । एमडिएमएस प्रणालीले सबै कारोवारलाई वैध मार्गमा लैजाने उहाँले बताउनुभयो । सिस्टम लागू भएसँगै राज्यको करको दायरा बढ्ने, चोरी आयात रोकिने र ग्राहक ठगिने क्रम रोकिने अध्यक्ष मलहोत्राको भनाइ छ । यस्तै एमडिएमएसमा दर्ता भएका फोनको विवरण तुरुन्त थाहा पाउन सकिने भएकाले मोबाइलको दुरुपयोग गरी हुने अपराध र अपराधी पत्ता लगाउन सजिलो हुने उपाध्यक्ष मलहोत्राले बताउनुभयो ।
एमडिएमएस प्रणाली पहिलोपटक लागू हुने भएकाले चलिरहेको मोबाइल र विदेशबाट उपहार अनि पर्यटकले बोकेर आउने मोबाइल कसरी चल्न दिने भन्ने बारे मोबाइल फोन आयातकर्ता संघसँग दूरसञ्चार प्राधिकरणले छलफल गरिरहेको छ । छलफलको क्रममा चलिरहेको फोनलाई निश्चित समय दिएर आईएमईआई नम्बर दर्ता गर्न लगाउने सुझाव आफूहरूले दिएको अध्यक्ष मलहोत्राले बताउनुभयो । यस्तै पर्यटकले नेपाल घुम्न आउँदा बोकेर आउने फोनलाई १५ दिनसम्म चल्न दिने र फेरि सुचारु गर्नुपरे भिषा पासपोर्टको विवरण राखेर गर्न सकिने व्यवस्था मिलाउन दुरसञ्चार प्राधिकरणलाई संघले सुझाव दिएको छ । यसैगरी उपहारमा आएको फोनलाई दर्ता गर्नु अघि भन्सारको प्रक्रिया पूरा गरेर मात्रै चल्न दिने व्यवस्था मिलाउन सुझाव दिएको अध्यक्ष मलहोत्राले बताउनुभयो ।उपहार आएको फोन पहिलो १५ दिन चलाउन कुनै बाधा नगर्न पनि सुझाव दिएको उहाँले बताउनुभयो । एमडिएमएस लागू भएपछि मोबाइल फोन आयातकर्ताले आयात गरेको सम्पूर्ण मोबाइल फोनको आईएमईआई नम्बर दुरसञ्चार प्राधिकरणमा दर्ता गरेर मात्र विक्रि वितरण गर्नेछन् ।