वैदेशिक रोजगारीमा आएको संकटले अर्थतन्त्रमा असर

Machchapuchchre

अर्थ राजनीति  ~  नेपालको अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्स कोरोना कहरका कारण घट्ने प्रक्षेपण गरिँदै आए पनि हालसम्म तुलनात्मक रूपमा घटेको छैन । केही महिना रेमिट्यान्स आयको वृद्धिदरमा भने कमी आएको भए तापनि रेमिट्यान्स आय नघट्दा अर्थतन्त्रलाई तत्काल नकारात्मक असर परिहालेको छैन । तर, गत वर्षको चैत ११ देखि हालसम्मको पछिल्ला १६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या निरन्तर घट्दो छ । नेपाली वैदेशिक रोजगारको क्षेत्रमा यसअघि मध्यपूर्वमा आएको आर्थिक मन्दीका कारण केही नेपाली स्वदेश फर्के पनि यसपटकजस्तो स्थिति भने आएको थिएन । तर, यसपटक भने वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो तथा फर्कनेको संख्या पनि बढ्दो रहेको कारण नेपाली श्रम बजारमा भने यसले ल्याउन सक्ने प्रभावको मूल्यांकन भएकै छैन । वैकल्पिक रोजगारीको रूप मानिएको वैदेशिक रोजगारीमा विगत दुई दशकयता सबैभन्दा बढी गिरावट आउँदा यसले पर्ने नकारात्मक असरका बारेमा अध्ययन हुनु अत्यावश्यक छ । तर, सरकारको प्राथमिकतामा रोजगार परेको छैन । संविधानमा नै रोजगारीको अधिकार लेखिएको भए तापनि त्यसका लागि सरकारले लगानी गर्न सकेको छैन । त्यसको सट्टा सरकारले प्रधानमन्त्री तथा अन्य प्रभावशाली व्यक्ति वा संस्थाका नाममा अर्बौं रकम अनुत्पादक रूपमा खर्चंदै आएको छ । सरकारका लागि स्वदेशमा रोजगारी सिर्जना प्राथमिकतामा नपर्दा नेपाली युवा बाध्यताले बिदेसिने गरेका छन् । कोरोना संक्रमणका कारण श्रम गन्तव्यमा पनि रोजगारीका अवसर संकुचित भएका छन् । यस क्षेत्रमा आएको गिरावट र हवाईसेवा पनि लामो समयदेखि बन्द हुँदा यसको प्रत्यक्ष असर वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्यामा गिरावट आएसँगै त्यसको असर वैदेशिक रोजगार व्यवसाय र यसका सहायक स्वरोजगार व्यवसाय, बिमा, तालिम दिने संस्था र अन्य क्षेत्रमा समेत परेको छ । दुई दशकयता वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा २० प्रतिशतभन्दा कम गिरावट आएको तथ्यांक भए पनि चालू आर्थिक वर्षमा मात्रै ६० प्रतिशतले कमी आउनु गम्भीर छ । चालू आर्थिक वर्षको ११ महिना बितिसक्दा वैदेशिक रोजगारीमा जाने प्रक्रियाले लय समात्न सकेको छैन । एकातिर कोभिड संक्रमणका कारण श्रम गन्तव्यका रोजगारदाताले विदेशी श्रमिकको मागलाई घटाए भने अर्कातिर स्वदेशमा रोजगारी सरकारको नारामा नै सीमित भयो ।

श्रमिकले पठाएको रेमिट्यान्सले अर्थतन्त्र चलाउने सरकारले उनीहरूलाई समस्या पर्दा भने राहतका कार्यक्रम ल्याउन सकेन । त्यसैले पुनः कोरोना संक्रमणको तेस्रो लहर आउने अनुमान गरिएका बेला सरकारले वैदेशिक रोजगारीको विकल्प दिने वा वैदेशिक रोजगारीमा जाने श्रमिकका समस्या समाधान गर्ने, यसमा गम्भीरतापूर्वक नसोच्ने हो भने यसले अर्थतन्त्रमा ठूलो समस्या निम्त्याउने प्रस्ट छ । किनकि वैदेशिक रोजगारीबाट फर्केका तथा स्वदेशमा नै रोजगारी नपाएका ठूलो संख्यामा युवा बेरोजगार रहनु भनेको मुलुकको दुर्भाग्य हो । यसले भोलिका दिनमा रेमिट्यान्स आय त घट्छ नै, यसबाट निर्मित आयातित अर्थतन्त्र पनि कोल्याप्स हुने पक्का छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्