लकडाउन पुन लम्बिने, नयाँ ढाँचाबारे मन्त्रिपरिषद्ले आज निर्णय गर्दै

Machchapuchchre

अर्थ राजनीति ~ सरकारले लकडाउनको नयाँ ढाँचाबारे सोमबार निर्णय गर्ने भएको छ । हरेक मन्त्रालयले आ–आफ्नो क्षेत्रको लकडाउनको ढाँचाबारे प्रस्ताव पेस गरेका छन् । त्यही आधारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेर प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजानेछ ।

साउन ७ गतेपछिको ढाँचा मन्त्रिपरिषद्‌मा छलफल गर्ने गरी विभिन्न मन्त्रालयबाट आएका प्रस्तावमाथि गृहकार्य भइरहेको सीसीएमसी सचिवालयका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए । उनका अनुसार सीसीएमसीको निर्देशक समितिको आइतबार बसेको बैठकले कोरोना भाइरसको संक्रमणको अवस्था विश्लेषण गरेको छ ।

चैत ११ सुरु भएको लकडाउन पटक–पटक थपिँदै साउन ७ गतेसम्म तोकिएको छ । जेठ अन्तिम सातादेखि धेरै क्षेत्रमा लकडाउन खुकुलो बनाइसकिएको छ। सरकारले हरेक २१ दिनमा कोरोना भाइरसको संक्रमणलाई हेरेर लकडाउन कडाइ वा खुकुलो गर्ने निर्णय लिने बताइएको छ ।

निजी सवारी साधनलाई जोर–बिजोर नम्बर प्रणालीका आधारमा सञ्चालन गर्नेदेखि सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने र पसलहरू खोल्नेसम्मका निर्णय सरकारले गरिसकेको छ । सार्वजनिक यातायात पनि सञ्चालन गर्न मिल्ने निर्णय गरेपछि सहरमा ट्याक्सीले पनि सेवा दिन थालेका छन् । गत सोमबारबाट सार्वजनिक बस पनि गुड्न थालेका थिए । नेपाल समाचार पत्रबाट

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्