कोरोना कहर: एका बिहानै ३८ जना संक्रमित थपिए, क्वारेन्टाइनमा रहेका एकजनाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ गण्डकी प्रदेशमा आज बिहान थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् ।

स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र पूर्वी नवलपरासीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ११३ पुगेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।

नयाँ संक्रमितहरु स्याङजाको वालिङ नगरपालिकामा १३ जना र भिरकोट नगरपालिकामा एक जना छन् । यस्तै बाग्लुङको बडिगाड गाउँपालिकामा ९ जना र ढोरपाटन नगरपालिकामा १ जना छन् ।

गोरखाको गण्डकी नगरपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पूर्वी नवलपरासीका चार जना संक्रमित हुप्सेकोट गाउँपालिकाका हुन् ।

त्यस्तै, बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा रहेका एकजना पुरुषको मृत्यु भएको छ ।

भारतबाट फर्किएको दिन उनको मृत्यु भएको हो । पाटन नगरपालिका–६ सन्तोली घर भएका ३१ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका ती पुरुषको राति क्वारेन्टाइनमै मृत्यु भएको हो । साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको बताइको छ ।

मृतकको स्वाबको नमूना संकलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइएको छ ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्