अर्थ राजनीति ~ महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) र जवानमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि बुधबार बिहानदेखि कालिमाटीक्षेत्र सिल गरिएको छ ।
त्यस्तै, मैतिदेवी बस्दैआएका जुम्ल्याहा दाजुभाइमध्ये एकजनामा कोरोना सङ्क्रमण देखिएपछि सो क्षेत्र पनि सिल गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार, कालिमाटी वृत्त परिसरमा रहेका महानगरीय ट्राफिक प्रहरी र महिला सेलको कार्यालय पनि सिल गरिएका छन् ।
त्यस्तै मैतिदेवीमा पनि केही दिनका लागि आवतजावतमा रोक लगाइएको छ ।
प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा ताला लगाइएको छ । त्यहाँ कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई कार्यालयभित्र सामाजिक दूरी कायम राखी स्वास्थ्य सतर्कता अपनाई उच्च मनोबलका साथ आरामले बस्न आग्रह गरिएको छ ।
करिब २५० जना सुरक्षाकर्मी कार्यरत कालीमाटी प्रहरी हिरासतमा रहेका एकजना थुनुवालाई बिहानै रिहा गरिएको छ । सङ्क्रमितहरूको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचार भइरहेको छ ।
हाल सम्म काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या १९ पुगेको छ । बन्दाबन्दीको बिचमा पनि तराईका विभिन्न जिल्लाबाट उपत्यकामा प्रवेश गर्नेहरूको सङ्ख्या बढेसँगै सङ्क्रमितको सङ्ख्या पनि बढेको दावी स्थानीय जनप्रतिनिधिहरूको छ ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार, काठमाडौंँमा १२, भक्तपुरमा पाँच र ललितपुरमा दुईजना कोरोना सङ्क्रमित फेला परेका छन् । काठमाडौँमा फेला परेकामध्ये चारजना उपचारपछि निको भएर यसअघि नै घर फर्किएका छन् ।
त्यसै गरि कोभिड–१९ रोकथाम तथा नियन्त्रणको अगुवाई गर्दै आएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको गरी ११ जना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ ।
सेनाका उपरथीसहित दुई, प्रहरीको दुईजना प्रहरी नायव निरीक्षक सहित पाँच, सशस्त्र प्रहरीको तीन र राष्ट्रिय अनुसन्धान विभागको एक गरी ११ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो ।
सङ्क्रमित सुरक्षाकर्मीमध्ये जनकपुरमा दुई, कपिलवस्तुमा चार, काठमाडौँमा चार र बारामा एकजना रहेका छन् । उपरथीसहित केही सुरक्षाकर्मीको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।