इस्मा गाउँपालिकामा आज सार्वजनिक विदा

Machchapuchchre

गुल्मी । जिल्लाको इस्मा गाउँपालिकाले बुधबार शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार कुलपुजाको लागि हिँडेका इस्मा गाउँपालिका–४ र ५ वडाका १४ जनाको दुर्घटनामा ज्यान गएपछि गाउँपालिकाले एक दिन शोक बिदा गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए । उनले तत्काल कार्यपालिकाको बैठक बसेर मृतक तथा घाइते परिवारको लागि पनि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताए । अहिले विद्यालयहरुमा अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ । गाउँपालिकाले बुधबार स्थगित प्रावि तहको परीक्षा मंसिर १९ गते र निमावि र मावि तहको मंसिर २० गते गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।

उक्त जीप बाग्लुङको बडिगाडमा जीप दुर्घटनाग्रस्त भएको हो । उक्त दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै परिचय खुलेको छ । ज्यान गुमाउनेमा जीप चालक गुल्मीको इश्मा गाउँपालिका ५ का २५ वर्षीय रेशम थापासहित माया थापा, बसुन्धरा कार्की, इश्मा ४ का ४० वर्षीया सिता कार्की, उहाँकी २ वर्षकी छोरी अनुसा कार्की, ६५ वर्षीय झवि कार्की, ४० वर्षका महेन्द्र कार्की, भूमि कार्की, सूचना कार्की, २५ वर्षीया मिना बस्नेत छन् ।

यस्तै, गुल्मीको इश्मा गाउँपालिका ४ का ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासी बर्दघाट नगरपालिका १ का ६० वर्षीय मुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका ७ का ५५ वर्षीया नरमाया खत्री र कञ्चनपुरका ५५ वर्षका धनबहादुर कार्कीको पनि दुर्घटना ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते हुनेहरुमा नवलपरासी बर्दघाट नगरपालिका २ बस्ने २१ वर्षीय जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका-४ बस्ने मृतक सूचना कार्कीका ४ वर्षीय छाेरा हिमाल कार्की र २४ वर्षीया निमा केसी रहेका छन् ।

नाबालक हिमाल र निमाको अवस्था गम्भीर छ । घाइते तिनै जनालाई ढोरपाट स्थित बुर्तिबाङ अस्पतालमा सामान्य उपचारपश्चात हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाण्डौ पठाइएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए । ‘हामीले यताबाट पनि पहल गर्‍यौँ, गुल्मीबाट पनि ठूलो दुर्घटना भएकाले पहल भयो’, प्रजिअ क्षत्रीले भने, ‘गुल्मीका सांसद तथा पूर्व मन्त्री गोकर्ण बिष्ट स्वयम् आएर घाइतेलाई काठमाण्डौको महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ ।’

गुल्मीको इश्मा गाउँपालिका ५ दोहोली रिप कैयापाटाबाट कूल पूजाका लागि बागलुङको निसीखोला गाउँपालिकाका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने बागलुङको बडीगाड गाउँपालिका–७ मा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्