आर्थिक वृद्धिदर २.२७ प्रतिशत: केन्द्रीय तथ्याङ्क विभाग

Machchapuchchre

अर्थ राजनीति – चालू आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार चालू आवको राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब चार करोड रुपियाँ पुग्ने अनुमान गरेको हो ।
चालू आवको बजेटमा सरकारले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखे पनि कोरोनाका कारण अर्थतन्त्र प्रभावित भई वृद्धिदर खुम्चिने अवस्था आएको विभागले जनाएको छ । विभागका अनुसार आर्थिक वृद्धिदर प्रक्षेपणका लागि चालू आवको सातदेखि नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित प्राप्त आँकडा र बाँकी अवधिको वस्तु तथा सेवा उत्पादनको अनुमान गरिएको छ ।
कोरोना भाइरसको असर कति समयसम्म रहने यकिन नभए पनि होटल र यातायात क्षेत्र भने अहिलेसम्म निकै प्रभावित भएको विभागले उल्लेख गरेको छ । विभागका अनुसार कुल गार्हस्थ उत्पादनमा यी दुवै क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर चालू आवमा ऋणात्मक रहने छ । चालू आवको नौ महिनासम्म पर्यटक आगमनमा कमी हुँदा होटल तथा रेस्टुरेन्ट क्षेत्र नराम्रोसँग प्रभावित हुने विभागको प्रक्षेपण छ ।

दैनिक आम्दानी २४ रुपियाँ बढ्ने
चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी एक लाख २६ हजार १८ रुपियाँ पुग्ने विभागले अनुमान गरेको छ । गत वर्ष यस्तो आय एक लाख १७ हजार २६८ रुपियाँ थियो । दैनिक औसतमा हिसाब गर्दा चालू आवमा नेपालीको आम्दानी ३४५ रुपियाँ पुग्ने देखिन्छ । जुन अघिल्लो आवको दैनिक औसतको तुलनामा २४ रुपियाँले बढी हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्