बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

Machchapuchchre

काठमाडौं । बाग्लुङको भीमगिठेमा एक रिजर्भ जीप दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ। जीप गुल्मीको इस्माबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो । मंगलबार बिहान १० बजेतिर भोलि हुने कुलपूजाका लागि रिजर्भ गरेर ल्याइएको ग १ ज ५२१९ जीप सडकबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।

‘एक जना बेपत्ता छन्, हामी खोजिरहेका छौं,’ एक प्रहरी अधिकारीले भने। जीपका चालकको पनि मृत्यु भइसकेकाले घटना कसरी भयो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा ९ महिला, ४ जना पुरुष र एक जना बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज भट्टराईले पुष्टि गरे ।

अन्य ३ जना गम्भीर घाइते भएका छन् भने एक जना खोलाले बगाएर बेपत्ता भएको एसपी भट्टराईले जानकारी दिए । घाइतेलाई प्राथमिक उपचारका लागि उद्धार गरी बुर्तिबाङ लिइएको छ । जीपमा १८ जना सवार थिए । घटनास्थलमा अहिले प्रहरी निरीक्षक सुरज खड्का नेतृत्वको प्रहरी टोली खटिएको छ। केही दिन अगाडि मात्रै अर्घाखाँचीको सन्धिखर्कमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्