प्रधानमन्त्रीको स्वास्थ्यका कारण प्रचण्डको चीन भ्रमण रोकियो

Machchapuchchre

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण एकाएक रद्द भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिका कारण नेकपा अध्यक्ष प्रचण्डले आफ्नो आसन्न चीन भ्रमण रद्द गरेको नेकपा स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीसँग भेट गरेको भोलिपल्ट प्रचण्डले चिनियाँ राजदूतलाई बोलाएर आफू चीन जान नसक्ने जानकारी दिएका हुन् ।

नेकपा अध्यक्ष प्रचण्ड ६० सदस्यीय नेकपाका नेताहरुको अगुवाई गर्दै मंसिर २४ गते चीन जाने कार्यक्रम थियो । चीनमा नेकपाका नेताहरुले चिनियाँ कम्युनिष्ट पार्टीका नेताको अनुभव सुन्ने र एक साताभन्दा बढी विभिन्न अवलोकनहरु गर्ने कार्यक्रम थियो । प्रचण्डले कार्यक्रमको उदघाटन गरेर वीचैमा र्फकने गरी जान तयारी गरेका थिए । तर, सोमबार प्रधानमन्त्री ओलीलाई भेटेपछि उनले मंगलबार चिनियाँ राजदूतसँग आफू भ्रमणमा जान नसक्ने बताएका हुन् ।

प्रधानमन्त्री ओली विरामी अवस्थामा अस्पतालमा रहेको हुनाले यस्तो बेलामा विदेश जानु उपयुक्त नहुने नेकपाका शीर्ष नेताहरुवीच छलफल भएपछि प्रचण्डले चिनियाँ राजदूतलाई परिस्थितिबारे जानकारी गराएको नेकपाको उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

यसैवीच, एपेन्डिसाइटिसको अप्रेशन गरेर अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री ओलीको मृगौला रि-ट्रान्सप्लान्ट गराउने निश्कर्षमा नेकपाका नेताहरु पुगेका छन् । तर, मृगौला प्रत्यारोपणका लागि विदेश लैजाने कि नेपालमै गराउने भन्ने विषयमा भने निर्णय भइनसकेको नेकपा स्रोतले बतायो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्