भारतले नेपालसहित १३ देशलाई औषधि उपलब्ध गराउने

Machchapuchchre

काठमाडौं । भारतले नेपालमा हुँदै आएको औषधि निर्यात जारी राख्ने भएको छ । भारतले शुक्रबार नेपालसहितका १३ देशलाई हाइड्रोक्सीक्लोरोक्विन (एचसीक्यू) र सिटामोल औषधि दिने निर्णय गरेको छ ।

भारत सरकारको कोरोना भाइरससँग सम्बन्धित समितिका एक अधिकारी दम्मु रविले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार भारतले नेपाल, भुटान, बंगलादेश, अफगानिस्तान, माल्दिभ्स, अमेरिका, स्पेन, जर्मनी, ब्राजिल, बहराइनलगायतका देशलाई यी औषधि उपलब्ध गराउने निर्णय गरेको हो ।

कोभिड–१९ संक्रिमत कतिपय बिरामीलाई यस औषधीले लाभ पुर्‍याएको पत्ता लागेपछि विश्वभर यसको माग समेत बढेको छ । भारत हाइड्रोक्सीक्लोरोक्विन औषधि धरै उत्पादन गर्ने देश हो । मलेरियाका लागि उपयुक्त हुने भनिने हाइड्रोक्सीक्लोरोक्विन औषधि उपलब्ध गराइदिन यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका थिए ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच शुक्रबारै औषधिलगायतका अत्यावश्यक सामान आयात–निर्यातका विषयमा टेलिफोन वार्ता भएको थियो ।

वार्ताको क्रममा उनीहरुबीच भाइरस नियन्त्रणको लागि अहिले भइरहेका प्रयास र यसका लागि आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको थियो । उनीहरुबीच अहिले दुवै मुलुकमा लकडाउन रहेकाले एकअर्काको मुलुकमा रहेका नागरिकहरुलाई आवश्यक कोष र स्वास्थ्य स्याहार प्रदान गर्ने सहमति भएको थियो ।

नेपाल सरकारको तर्फबाट ओलीले भारतलाई आवश्यक मेडिकल सामग्रीहरु निरन्तर पठाएकोमा भारत सरकारलाई धन्यवाद दिएका थिए । उनीहरुले एकअर्को मुलुकले गरिरहेको आवश्यक सामग्रीको आपूर्तिमा सन्तोष व्यक्त गर्दै यो क्रम आगामी दिनमा पनि जारी राख्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले सार्क मुलुकको बीचमा भएको भिडियो कन्फ्रेन्सको माध्यमबाट कोरोना भाइरसको नियन्त्रणका लागि समयमा नै सही कदम चाल्नका लागि सहयोग पुगेको भन्दै खुसी व्यक्त गरेका छन् ।

ओलीले भारतमा कोभिड–१९ को कारण मृत्यु हुने मानिसप्रति दुःख व्यक्त गरे । साथै मोदीले पनि नेपाली जनताले लकडाउनको पालना गरेकोमा आभार व्यक्त गरेका थिए । वार्ताको क्रममा उनीहरुको बीचमा दुई मुलुकबीच रहेको बहुपक्षीय मैत्री सम्बन्धको विषयमा पनि छलफल भएको थियो ।

साथै नेपालमा द्विदेशीय व्यापारलाई पनि यथावत रुपमा निरन्तरता दिने भएको छ । नेपालले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि भारतको प्रयासलाई साथ दिएसँगै भारतले पनि अत्यावश्यक सामग्रीमा रोक नलगाउने निर्णय गरेको छ । भारतले प्रतिमहिना सो औषधीको ३५ करोड ट्याबलेट उत्पादन गर्ने क्षमता राख्दछ ।

त्यस्तै, भारतले युरोपको स्पेन र जमर्नी, भारतीय महासागर क्षेत्रको सेचल्स र मौरसिस, दक्षिण अमेरिकाको डोमिनिकन रिपब्लिक र ब्राजिल तथा पूर्वी एसियाको बहराइनलाई पनि सो औषधी निर्यात गर्ने भएको छ । भारतले यसअघि अमेरिकालाई पनि सो औषधी पठाएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्