भारततर्फबाट खाद्यान्नको आयात भइरहेकाे छ, आपूर्तिमा व्यवधान छैन- मन्त्री भट्ट

Machchapuchchre

काठमाडौं । सरकारले  दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै असहज अवस्था नआएको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज नेपाल टेलिभिजनमार्फत सरकारले आवातजावतमा रोक लगाए पनि छिमेकी मुलक भारततर्फबाट खाद्यान्नको आयातमा कुनै समस्या नरहेको बताए ।

‘आयात निरन्तर छ, तथ्याङ्कमा हेर्ने हो भने आपूर्ति सहज छ,’ उनले भने, ‘सीमाबाट व्यवस्थित ढङ्गबाट आइरहेको छ ।’ मुलुकभर खाद्यान्न तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलको सिङ्गो टिम आपूर्ति व्यवस्थामा अवरोध आउन नदिन दिनरात लागिपरेको उनको भनाइ छ ।

लकडाउनको १७ दिनसम्म आइपुग्दा ३७ हजार ३३४ खाद्यान्न, १४ हजार ५४ मेटन गेडागुडी तथा दलहन, २१ हजार ६२६ मेट्रिक टन तरकारी, पाँच हजार ९६२ मेट्रिक टन फलफूल, ८० मेट्रिकटन दुग्धजन्य पदार्थ र रु १० करोड ८७ लाख सात हजार बरारबरको विभिन्न प्रकारका कच्चा पदार्थ र ५६ करोढ ९७ लाख २७ हजार बराबरको तयारी औषधि पनि आयात भएको मन्त्री भट्टले जानकारी दिए ।

खाद्यान्न तथा अत्यावश्यक वस्तु बोकेर आएका ट्रक तथा कन्टेनरलाई ‘डिसइन्फेक्सन’ गरेर नेपाल प्रवेशको व्यवस्था मिलाइएको बताए । ‘हामीले आयात गर्न चाहेका खाद्यवस्तु सबै निर्वाधरुपमा आइरहेका छन्,’ उनले भने, ‘खाद्यवस्तु भएको ट्रक तथा कन्टेनरलाई तत्काल भन्सार जाँच पास गरिदिन अर्थ मन्त्रालयसँग छलफल गरिएको छ ।’

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का वाणिज्य सहसचिवस्तरीय ‘भिडियो कन्फ्ररेन्स’मार्फत व्यापारमा सहजीकरण गरिएको जानकारी दिँदै उनले खाद्यान्नको आपूर्तिमा कुनै व्यवधान नआउने प्रष्ट पारे । अत्यावश्यक वस्तुको ढुवानीमा समस्या आउन दिन ढुवानी व्यवसायी महासङ्घसँग पनि निरन्तर संवाद भइरहेको उल्लेख गर्दै उनले ढुवानीको निरन्तरताका लागि ट्रक तथा ट्याङ्कर चालक, सहचालक तथा मजदुरले ठूलो योगदान गरेको बताए ।

सरकार र निजी क्षेत्रसँग पर्याप्त मात्रामा दैनिक उपभोग्य वस्तुको मौज्दात रहेको भन्दै उनले खाद्यान्न अभाव हुन्छ भनेर चिन्ता नलिन आग्रह गरे । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ र निजी क्षेत्र एक लाख २५ हजार २९० मेट्रिकटन चामल मौज्दात रहेको उनले जानकारी दिए ।

त्यसैगरी सात हजार २९४ मेटन चिनी, एक लाख ६० हजार ५४९ मेटन नुन, १६ हजार ८१ गेडागुडी तथा दाल, १६ हजार ८६८ मेटन खानेतेल मौज्दात रहेको मन्त्री भट्टले बताए । खाद्य उद्योगसँग चार महिनालाई नेपालको माग धान्न सक्ने चामल मौज्दात रहेको छ । दाल तथा गेडागुडी र तेल तीन महिनालाई पुग्ने मौज्दात रहेको उनको भनाइ छ ।

‘सरकारले पेट्रोलियम पदार्थको पनि पर्याप्त मौज्दात राखेको छ । नेपाल आयल निगमको इन्धन भण्डारण क्षमता पूर्ण रुपमा भरिएको छ । निजी क्षेत्रको पेट्रोल पम्प सबै भरिएका छन्,’ उनले भने । ‘ग्यासको पनि पर्याप्त मौज्दात रहेको छ । उद्योग, सिलिण्डर सबै भरिएका छन् । ग्यासको आयातमा कुनै समस्या छैन । हामीले माग गरेअनुसारकै ग्यास आइरहेको छ ।’

ग्यासको आयात निरन्तर रहेको भन्दै मन्त्री भट्टले घरमा अनाश्यक सिलिण्डर थुपारेरर जोखिम ननिम्त्याउन उपाभोक्तालाई आग्रह गरे । ‘ग्यासको कुनै अभाव छैन । आवश्यक मात्र एक/दुई वटा सिलिण्डर मात्र राख्नुस्,’ उनले भने, ‘बढी सिलिडर नराख्नुस्, दुर्घटना हुन सक्छ ।’उनले आपूर्ति प्रणालीमा कुनै समस्या आउन नदिइने दृढता व्यक्त गरे । ‘आपूर्ति व्यवस्थालाई सहजीकरण गर्न आपूर्ति मन्त्रालय र मन्त्रालयको सिङ्गो टिम लागेको छ,’ उनले भने । चीनतर्फको ततोपानीको नाका खुलिसकेको जानकारी दिँदै उनले त्यहाँबाट अत्यावश्यक समान आउन थालिसकेको बताए ।

सङ्कटको समयमा उपभोक्ता ठगिमा नपरुन भनेर सरकारले बजार अनुगमनलाई तीव्रता दिएको उल्लेख गर्दै मन्त्री भट्टले कालोबजारी गर्ने एकाध व्यापारीमाथि कारबाही गरिएको बताए । ‘हिजोका दिनमा भएको जस्तो कालोबजारी अहिले छैन, एकाध मान्छेलाई कारबाही गरेका छौं,’ उनले भने, ‘खाद्यन्नमा मूल्य बढेको छैन तर फलफूलको अभाव देखिएकाले केही मूल्य बढेको छ ।’ दैनिक उपभोग्य वस्तुमा बढी मूल्य लिएको पाइए सरकार कडा कारबाही गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्