चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टा गरिएको छैन – स्वास्थ्य मन्त्रालय

Machchapuchchre

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार कोषका लागि चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टा नहुने जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत कोरोनाको उपचार कोषका लागि स्वास्थ्यकर्मीको तलब काट्ने तयारी नभएको बताएका हुन् ।

‘चैत ११ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार विभिन्न तहका कार्मचारीहरुले तीन देखि सात दिनसम्मको तलब कट्टा गरेर कोषमा राख्ने निर्णय भएको छ, त्यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट चिकित्सक तथा स्वास्थ्यकर्मीलाई यो तलब कट्टा गर्ने निर्देशन जारी गरेका छैनौं,’ प्रवक्ता डा देवकोटाले भने, ‘त्यसैले सबैले उच्च मनोवलका साथ काम गर्न स्वास्थ्य मन्त्रालय हार्दिक अपिल गर्दछ ।’

प्रवक्ता देवकोटाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेका २ जना, बाग्लुङमा रहेका २ जना र सेती अस्पतालमा रहेका ४ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जाकारी दिए ।

उनले हालसम्म ३ हजार ५ सय २४ जनाको कोरोना परीक्षण भएको पनि बताए । गएको २४ घण्टामा ६ सय ३० नमूना परिक्षण भएको उनले जानकारी दिए । जसमध्ये मध्ये काठमाडौं उपत्यकामा ४ सय ३० र काठमाडौं बाहिर २ सय २९ वटा नमूना परीक्षण भएको छ ।

यस्तै देशैभरीका कोरोना परीक्षण हुने प्रयोगशालाहरुमा ८ सय भन्दा बढी नमूनाहरु परीक्षणको क्रम जारी रहेको प्रवक्ता डा देवकोटाको भनाइ छ । विराटनगरको कोशी प्रादेशिक अस्पतालबाट पनि कोरोना परीक्षण शुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत कोशी अस्पतालमा पिसिआर मेसिनबाट कोरोना परीक्षण शुरु गरिएको बताएका हुन् । देवकोटाका अनुसार क्वारेन्टाइनमा देशभरी ८ हजार ६ सय ६० जना रहेका छन् भने आइसोलेसनमा एक सय २५ जना छन् ।

डा देवकोटाले यसअघि कैलाली र कञ्चनपुरमा गरिएको नमूनाको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको बताए । कैलालीमा ३ सय ३९ वटा र कञ्चनपुरमा १ सय ३७ गरी ४ सय ७६ वटा नमूना परीक्षण भएको थियो । यस्तै कपिलबस्तुमा भएको २१ वटा र बाग्लुङको १९ नमूना परीक्षणको नतिजा पनि नेगेटिभ आएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार विराटनगरको कोशी प्रादेशिक अस्पतालमा पनि आजदेखि पिसिआर विधिबाट कोरोना परीक्षण शुरु भएको छ । कोशी अस्पतालसँगै स्वास्थ्य मन्त्रालयले देशभरका ११ स्थानमा कोरोना परीक्षण शुरु गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको टोलीले बिहीबार केही जिल्लाहरुका नमूना संकलन गरेर काठमाडौं ल्याएको छ ।

डडेल्धुराबाट १ सय ९९, बैतडीबाट ४ सय २५ र कर्णाली प्रदेशबाट ८५ गरी ७ सय ९ वटा नमूना संकलन गरी राष्ट्रिय जनस्वासथ्य प्रयोगशालामा ल्याएको हो । ती नमूनाहरुको कोरोना परीक्षण भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्