कृष्णदास गिरीलाई चार दिन हिरासतमा राख्न अनुमति

Machchapuchchre

इटहरी । बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ। पक्राउ गर्न प्रहरी खटिएपछि विराट नर्सिङ होम विराटनगरको आइसियुमा भर्ना भएका उनलार्ई सोमबार बिहान पक्राउ गरी अदालतमा पेस गरिएको थियो।

न्यायाधीश धर्मराज पौडेलले गिरीलाई चारदिने अनुसन्धानको म्याद दिएका हुन्। बिरामी भएकाले अस्पतालमा पनि जँचाउन र अनुसन्धान पनि गर्न अदालतले आदेश दिएको जिल्ला अदालत सुनसरीका प्रवक्ता गोपाल गिरीले जानकारी दिए। अदालतबाट म्याद थपेलगत्तै कृष्णदासलाई पुनः विराट नर्सिङ होममै उपचारका लागि भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले जनाए।

अस्पतालमा प्रहरीकै निगरानीमा उनको उपचार भइरहेको छ। उनीविरुद्ध बुधबार जाहेरी दर्ता भएपछि शुक्रबार अदालतबाट प्रहरीले पक्राउ अनुमति पाएको थियो। जाहेरी दर्ता भएको भोलिपल्ट बिहीबारदेखि नै गिरीमाथि अनुसन्धानका लागि टोली खटाइएको थियो। त्यसको सुइँको पाएलगत्तै उनी शुक्रबार बिहान विराट नर्सिङ होममा भर्ना भएका थिए।

पक्राउ गर्ने योजना बनाएर आइतबार बिहानै अस्पताल पुगेको प्रहरी टोली आइसियुमा भर्ना भइसकेको अवस्थामा उनलाई भेट्टाएपछि त्यत्तिकै फर्किएको थियो। सोमबार बिहानैदेखि आफ्ना अनुयायीलाई भेट दिएपछि प्रहरीले उनलाई आइसियुबाटै पक्राउ गरेर एम्बुलेन्समार्फत सुनसरी ल्याएको हो। उनको मुटु र छातीमा समस्या देखिएको अस्पतालले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्