अमेरिकाको न्युयोर्कमा मात्रै एकै दिन ७ सय ३१ जनाको मृत्यु, १ लाख ३८ हजारबढी संक्रमित

Machchapuchchre

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९१९ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांक हालसम्मकै उच्च हो । योसँगै मृत्यु हुनेको संख्या १२ हजार ७९० पुगेको छ ।

अमेरिकाको न्युयोर्क शहरमा मात्रै एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको छ । गभर्नर एन्ड्रयु कुमोकाअनुसार मंगलबारसम्म न्युयोर्कमा मृत्यु हुनेको संख्या पाँच हजार चार सय ८९ पुगेको छ । संक्रमितको संख्या भने एक लाख ३८ हजार आठ सय ३६ पुगेको छ ।

जेलमा रहेका कैदीको पनि मृत्यु भएपछि अधिकारीहरु चिन्तामा परेका छन् । न्युयोर्कको जेलमा रहेका ५३ वर्षका माइकल टाइसन नाम गरेका एक व्यक्तिको कोभिड १९ का कारण मृत्यु भएको छ ।

सोमबारसम्म न्युयोर्क शहरको जेलमा रहेका दुई सय ८६ कैदी र तीन सय ३१ कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको थियो ।

अमेरिकामा एकैदिन २८ हजार ६०८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ९५ हजार ६१२ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये २१ हजार ६७४ जना उपचारपछि निको भएका छन् । ९ हजार १ सइ ६९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । ३ लाख ६१ हजार १४८ जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ ।
यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८२ हाजर बढीले ज्यान गुमाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्