संघीय संसदको पाँचौं हिउँदे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य

Machchapuchchre

काठमाडाैं । संघीय संसदको पाँचौं हिउँदे अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ। संघीय संसदले एक सूचना जारी गर्दै प्रतिनिधि र राष्ट्रियसभा दुवैको चालू अधिवेशन अन्त्य हुने भएको जानकारी दिएको हो।

यसअघि बसेको मन्त्रिपरिषद बैठकले चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो। गत पुस ४ गतेबाट शुरु भएको चालू अधिवेशनबाट वर्तमान सभामुखको चयन भएको थियो।

यो अधिवेशनमा सङ्घीय सदनबाट शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक र राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रणसम्बन्धी विधेयक पारित भएका थिए।

कोरोनासम्बन्धी सार्वजनिक महत्वको विषयमा छलफल हुनाका साथै महिला हिंसासम्बन्धी सङ्कल्प प्रस्ताव पनि यो अधिवेशनबाट पारित गरियो। नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सङ्घीय निजामती सेवा विधेयकजस्ता महत्वपूर्ण विधेयक भने पारित हुन सकेनन्।

निकै चर्चामा रहेको अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले सदनमा छलफलका लागि प्रवेश पाएन। चालू अधिवेशनमा प्रतिनिधिसभाबाट आठ विधेयक पारित भए भने प्रतिनिधिसभाका विभिन्न समितिमा हाल १३ विधेयक विचाराधीन छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्