२१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट आग्रह

Machchapuchchre

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देश तथा विदेशबाट आएका व्यक्तिलाई २१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

प्रदेशवासीलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले भने,‘बाहिर मुलुकबाट आउनु भएका दाजुभाइ तथा दिदीबहिनीलाई आफ्नो नातेदार तथा नजिकका अरू व्यक्तिको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी २१ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा रहन अपिल गर्दछु ।’

पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढेको स्मरण गराउँदै मुख्यमन्त्री भट्टले बाह्य मुलुकबाट आएका व्यक्तिको सम्पर्कमा आएकाहरूलाई पनि अनिवार्य स्वास्थ्य जाँच गराउन आग्रह गरे । कोरोनाबाट बच्न सतर्क हुनुको विकल्प नभएको भन्दै मुख्यमन्त्री भट्टले लकडाउनलाई पूर्ण रूपमा पालना गरी सेल्फक्वारेन्टाइनमै सुरक्षित हुन अपिल गरेका छन् ।

साथै संक्रमित देखिएका कैलाली र कञ्चनपुरमा संघीय सरकारले ¥यापिड टेस्ट सुरु गर्ने निर्णय गरिसकेको जानकारी दिदै उनले थप अन्य जिल्लामा पनि विस्तारका लागि आग्रह गरिएको बताए ।

सुदूरपश्चिमबाट कोरोनाले नेपालमा दोस्रो चरणमा प्रवेश गरेपछि मुख्यमन्त्री भट्टले प्रदेशवासीलाई सम्बोधन गरी सतर्क रहन आग्रह गरेका हुन् । कैलालीमा विदेशबाट आएका एक व्यक्तिबाट उनको परिवारकै सदस्यमा कोरोना संक्रमित देखिएको छ ।

कोरोना संक्रमणले दोस्रो चरणमा प्रवेश गरेसँगै केन्द्र सरकारले एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा जान नपाउने निर्णयसमेत गरी लकडाउनलाई कडाइका साथ लागू गर्ने निर्णय गरिसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्