अस्पतालबाट नागरिकले आकस्मिक सेवा पाउने व्यवस्था मिलाउन महामन्त्री कोइरालाको माग

Machchapuchchre

काठमाडौँ । कांग्रेस महामन्त्री शशांक कोइरालाले अस्पतालबाट आकस्मिक सेवा नपाएर ज्यान जोखिममा पर्ने अवस्थालाई गम्भीर रुपमा लिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

महामन्त्री कोइरालाले शुक्रबार अपिल जारी गर्दै कोरोना भाइरस (कोभिड–१९)को महामारीसॅग जुध्न सरकारले गरेका तयारी परिणाममुखी नभएको बताएका छन् । कोरोनाको संक्रमण फैलन नदिन गरेका कतिपय कार्यको प्रभावकारीता र विश्वसनियतामानै प्रश्न उठ्नु दुःखद भएको कोइरालाले बताएका छन् ।

‘महासंकटको अवस्थामा समेत सरकार संवेदनशील नभएको र औषधि उपकरण ल्याउन दिएको ठेक्काको खरिद प्रक्रियामा अनियमितता भएको र प्रकृया रद्द भएसॅगै सरकार जाहाॅको त्यही भएको छ,’ कोइरालाले अपिलमा भनेका छन्, ‘ यस्तो असामान्य परिस्थितिमा सामान्य तरिकाले काम गरेर पुग्दैन । सेनालाई औषधी किन्ने जिम्माभन्दा दक्षता अनुसारको कामको जिम्मा दिऔ । यस्तो प्रवृत्तिले हाम्रो प्रणली कमजोर हुन्छ ।’

लकडाउन भएको १३ दिनसम्म स्वास्थ्यकर्मीका लागि पीपीईको प्रबन्ध गर्न नसक्नुले सरकारको संवेदनशीलता र कार्यदक्षतामानै प्रश्न उठेको कोइरालाले उल्लेख गरेका छन् । यसले संभावित संक्रमितको परीक्षण एवं संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल गिराउॅने काम गरेको कोइरालाको भनाइ छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक पर्ने औषधि अभाव हुन नदिन आयातका लागि सरकारलाई योजनासहित अगाडी बढ्न पनि कोइरालाले सुझाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्