स्वास्थ्य मन्त्रालयले भन्यो– पोखरामा पोजेटिभ रिपोर्ट भेटिएको छैन

Machchapuchchre

काठमाडाैं । कास्कीमा पनि कोरोना संक्रमित भेटिएकाे समाचार बाहिरिएपछि स्वास्थ्य मन्त्रालयले त्यसबारेमा आफ्नाे धारणा सार्वजनिक गरेकाे छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाेखरामा हालसम्म कोरोना संक्रमित फेला नपरेको जानकारी दिएका छन् । उनले कास्कीमा गरिएको परिक्षण र काठमाडौंमा पनि गरिएको परिक्षण रिपोर्टमा कोही पनि पोजिटिभ नदेखिएको स्पष्ट पारे ।

यस्तै कास्कीमा कोरोना भाइरस संक्रमित हालसम्म नभेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले पोखराबाट केही नमुना थप परीक्षणको लागि केन्द्रीय प्रयोगशालामा पठाएको बताए।

‘मेसिन नयाँ भएकोले दोहोरो, तेहोरो परीक्षण गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘दोहोरो चेक नगरी रिजल्ट बाहिर आउँदैन।’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको पीसीआर मेसिनमा जाँच गरिएका स्वाब केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण भइरहेको उनले बताए।

यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयकै एक उच्च अधिकारीले पोखरामा १ जनामा कोरोना संक्रमण देखिएको सूचना दिएका थिए । अहिलेसम्म नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमित सबै विदेशबाट आएका हुन् ।

त्यसमा पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए । सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखियो ।

त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आयो । त्यसको चार दिनपछि बिहीबार उनीहरुसँगै आएकी ६५ वर्षीया वृद्धामा कोरोना संक्रमण देखिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्