विभिन्न स्थानमा फसेका विदेशी पर्यटकको उद्दार कार्य आज राति १२ बजेदेखि बन्द हुने

Machchapuchchre

काठमाडौं । लकडाउनका कारण हवाइ उडानमा लागेको प्रतिवन्धसँगै नेपालका विभिन्न स्थानमा फसेका विदेशी पर्यटकको उद्दारको काम आज राति १२ बजेदेखि बन्द हुने भएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार शुक्रबारसमेत देशका विभिन्न स्थानबाट पर्यटकहरु काठमाडौं आइरहेका छन् । तर, राति १२ बजेपछि जुन पर्यटक जहाँ छन्, लकडाउन नखुलेसम्म त्यहीँ बस्नुपर्ने भएको छ । उनीहरु आवत–जावत खुकुलो भएपछि मात्र बाहिर निस्कन पाउने छन् ।

यसबीचमा धेरैजसो मुलुकले आफ्ना नागरिकलाई नेपालबाट उद्धार गरी स्वदेश फर्काइसकेका छन् । बोर्डका सीइओ डा. धनन्जय रेग्मीका अनुसार शुक्रबार लुक्ला र फाप्लुबाट २८ जना पर्यटकको उद्धार गरेर काठमाडौं ल्याइएको छ ।

शुक्रबार नै पोखराबाट दुईवटा बसमा पर्यटकहरु काठमाडौं आइरहेका छन् । ‘आज पर्यटकको उद्धार गर्ने समय तोकिएको अन्तिम दिन हो,’ रेग्मीले भने, ‘हामीले नेपालस्थित दूतावासबाट अनुरोध भई आएका र ईच्छुक सबै पर्यटकलाई आज काठमाडौं ल्याइसक्छौं ।’

यसअघि पर्यटन मन्त्रालयले २१ चैत राति १२ बजेसम्म नेपालभर रहेका पर्यटकलाई आ–आफनो मुलुक फर्काउन समय तोक्ने निर्णय गरेको थियो । सोहीअनुसार बोर्ड र मन्त्रालयले स्थानीय प्रशासनसँग पर्यटकलाई स्थलमार्गबाट समेत काठमाडौं आउने वातावरण बनाउन आग्रह गरिएको थियो ।

आजदेखि काठमाडौं बाहिरबाट थप उद्धारको काम बन्द भए पनि काठमाडौंमा रहेका विदेशी नागरिकलाई भने ती मुलुकहरुले फिर्ता लैजाने काम भने जारी रहने सरकारी अधिकारी बताउँछन् । पूर्वको ताप्लेजुङदेखि पश्चिममा धनगढीसम्मबाट पर्यटकहरु काठमाडौं ल्याइएको छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार लकडाउन शुरु भएयता देशका विभिन्न स्थानबाट १७०८ जना पर्यटकको उद्दार भएको छ । यो शुक्रबार काठमाडौं आउँदै गरेका पर्यटकको समेत संख्या जोड्दा पुग्ने संख्या हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्