प्रदेश २ मा कोरोनाको परीक्षण सुरु, थप २ मेसिन खरिद गरिने

Machchapuchchre

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामबाट कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु भएको छ ।

प्रादेशिक अस्पताल जनकपुरधाममा स्थापना गरिएको पीसीआर मेसिनबाट परीक्षण सुरु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादवले जानकारी दिए । उनका अनुसार, मेसिन जडानसँगै प्राविधिकहरू पनि तयारी अवस्थामा बसिसकेका छन् ।

अब आउने शंकास्पद व्यक्तिको स्वाब लिएर यही परीक्षण गरिने उनले बताए । दैनिक १० वटासम्म स्याब परीक्षण गर्न सकिने उनले जानकारी दिए । मेसिन जडान गरिएपछि प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले शुक्रबार बिहान निरीक्षण गरेका थिए ।

उनले निरीक्षण गरेसँगै मेसिन सञ्चालनमा ल्याइएको छ । काठमाडौंबाट यो मेसिन ल्याउन प्रदेश सरकारले भ्यान काठमाडौं पठाएको थियो ।

जडान गरिएको मेसिनको निरीक्षण गर्दै मन्त्री साहले यसले प्रदेशका जनतालाई केही राहत पुगेको विश्वास व्यक्त गरे । उनले थप दुई वटा पीसीआर मेसिन खरिद गरिने बताए । यसका निम्ति प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

बिहीबार कोरोना महामारी नियन्त्रणका लागि गठित निर्देशक समितिले प्रदेशभरिमा कोरोनाको परीक्षण गर्ने मेसिन पीसीआर थप्न निर्देशन दिएको उनले बताए ।

समितिका अध्यक्ष मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा दुई वटा मेसिनसहित ५० वटा भेन्टिलेटरसमेत थप्न निर्देशन दिएका थिए । सामाजिक विकासमन्त्री साहले खरिद हुने दुई मेसिनमध्ये एउटा राजविराज र अर्काे वीरगंजमा जडान गरिने जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्