कोरोनाको रोकथाम र उपचारका लागि डेढ अर्ब निकासा

Machchapuchchre

काठमाडौं । अर्थ मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको छ ।

अर्थले मुख्य रुपमा स्वास्थ्य मन्त्रालयकै बजेट ८५ करोड रुपैयाँ बजेट रकमान्तर स्वीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयकै अन्य कार्यक्रमबाट रकमान्तर गरी खर्च गर्न बजेट उपलब्ध गराइएको मन्त्रालयका सहसचिव धनीराम शर्माले जानकारी दिए ।

‘मेडिकल उपकरणहरु किनेर अस्पतालहरुको स्तरोन्नति गर्न यो रकम खर्च हुन्छ,’ उनले भने, ‘अहिलेसम्म स्वास्थ्यलाई वार्षिक स्वीकृत बजेटभन्दा थप रकम दिनुपरेको छैन ।’

त्यसैगरी ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा पनि ५० करोड रुपैयाँ बजेट दिइएको छ । चीनबाट नेपाली विद्यार्थीहरुलाई उद्धार गरेर क्वारेन्टाइनमा राख्दा १३ करोड रुपैयाँ खर्च भएको थियो ।

मन्त्रालयका अनुसार अहिलेकै अवस्थामा कोरोनाको रोकथामका लागि बजेट अपर्याप्त हुने देखिएको छैन । तर, दिनदिनै परिस्थिति बदलिने र त्यसकै आधारमा आँकलन गर्नुपर्ने भएकाले यसै भन्न नसकिने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

सहसचिव शर्माले राजश्वको असुली प्रभावित भएपनि खर्च पनि घटेको अवस्थामा कोरोनाविरुद्ध भविष्यमा आवश्यक पर्ने बजेटको अभाव भइहाल्ने अवस्था नदेखिएको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्