चीनबाट स्वास्थ्य सामग्री ल्याउन गरिएको विवादास्पद ठेक्का सम्झौता रद्द

Machchapuchchre

काठमाडौं । सरकारले विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्ध गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय भएको बताए ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओबीसीआई कम्पनीसँग ठेक्का सम्झौता रद्ध गरेको जानकारी दिए ।

‘बजार भाउ भन्दा २० प्रतिशत बढी मूल्य छ, हामीले भनेको समयमा भने जति औषधि ल्याउनु भएन, उहाँहरुले मार्च ३० तारिख सम्ममा १० प्रतिशत मात्र सामान ल्यानुभयो,’ श्रेष्ठले भने, ‘पैसाको हिसाबमा १८ प्रतिशत रकमको सामान ल्याउनु भयो, उहाँहरुले दोस्रो लट भोली पेस गर्नुपर्ने सामाग्री ल्याउन सक्ने अवस्था छैन र अहिलेसम्म ल्याउने प्रतिवद्धता पनि गर्नुभएको छैन, त्यसैले हामीले आज (बुधबार) त्यो सम्झौता रद्ध गरेका छौं । सम्झौता रद्ध गरेर उहाँहरुलाई उहाँहरुको धरौटी जफत गर्ने र कालो सूचीको लागि प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।’

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको उपचारमा आवश्य पर्ने स्वास्थ्य सामाग्री खरिद गरी आपूर्ति गर्ने गरी ओबीसीआई नामक कम्पनीसँग चैत १४ गते ठेक्का सम्झौता गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले एक अर्ब २४ करोड रुपैयाँको ठेक्का सम्झौता रद्ध गरेको हो । स्वास्थ्य मन्त्रालयले सो कम्पनीमाफर्त केही स्वास्थ्य सामाग्री नेपाल ल्याएर प्रदेशहरुमा वितरण समेत गरिसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्