नयाँ सङ्क्रमित भेटिएपछि थप रणनीतिमा सरकार, यस्त छ तयारी

Machchapuchchre

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोभिड–१९ पोजिटिभ देखिएपछि थप रणनीति अपनाउने भएको छ । कोरोना भाइरसको नमूना परीक्षणका क्रममा विदेशबाट आएकामा पोजिटिभ देखिएपछि थप रणनीति अपनाउन लागिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिले अपनाइएको रणनीतिलाई थप मजबुत बनाउँदै लगिने बताएका छन् । बुधबार खाडी मुलुकबाट आएका एक जनामा नमूना परीक्षणका क्रममा कोभिड–१९ पोजिटिभ देखिएको हो ।

यसअघि फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ पोजिटिभ देखिएको हो । उनीहरु दुवैको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । यसअघि चीनबाट आएका एक जनामा सङ्क्रमण देखिए पनि उपचारपछि निको भएको थियो ।

उनका अनुसार पहिलो रणनीतिमा अहिले बाहिरबाट मानिसलाई अत्यन्त व्यवस्थित गरेर होम क्वारेन्टाइनमा राख्ने र त्यसबाट अरुलाई सार्न नदिने तथा क्वारेन्टाइनमा बसेकालाई केही समस्या परेमा तिनको उपचार सरकारले गर्छ ।

डा. देवकोटाले विदेशबाट आएका सबैको परीक्षण गर्न जरुरी छैन भन्दै सबै आ–आफ्ना घरमा बसे भने सङ्क्रमण फैलिन नपाउने बताए । ‘विदेशबाट आएका सबै न सङ्क्रमित हुनुहुन्छ न त नमूना परीक्षण जरुरी रहेको छ । उनीहरु आफ्नै घरमा एक्लै बसून् भनेर लकडाउन गरिएको हो’, उनले भने, ‘विदेशबाट आएकाको लक्षण देखियो भने आइसोलेशनमा राखेर परीक्षण गर्ने हो ।’

उनले अझै पनि कोभिड–१९ पोजिटिभ देखिन सक्ने बताए । ‘कोभिड–१९ पाजिटिभ देखिन सक्छ भनेर नै हामी तयारी अवस्थामा बस्नका लागि लकडाउन गरिएको हो । देखिएकोलाई सरकारले उपचार गर्ने र बाँकी घरघरमा बस्ने हो’, उनले भने ।

कोभिड–१९ पोजिटिभ बढ्दै गए भने अस्पतालमा तयारीलाई तीव्रता दिइने बताउँदै डा देवकोटाले अस्पतालमा सघन उपचार कक्ष थप गरेर सङ्क्रमितको उपचार गरिने जानकारी दिए । उनका अनुसार अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा थप १० सघन उपचार कक्ष निर्माण शुरु गरिएको छ ।

यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एउटा भवनमा र बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पताललाई पनि छुट्टै कोरोनाका बिरामी राख्नका लागि अस्पताल बनाउन थालिएकाले अहिले देखिएका समस्या समाधान गर्न सकिने उनको भनाइ थियो ।

उनका अनुसार अहिलेको शुक्रराज अस्पतालमा एक हप्तामा चार हजार जनाको नमूना परीक्षण गर्न सक्ने क्षमता छ । सरकारले खरिपाटीमा एक हजार शय्या निर्माण गर्ने निर्णयको कार्यान्वयन हुँदैछ । निजी अस्पताल पनि छुट्टै भवन दिन सक्ने बनाउन मन्त्रालयले चिठी पठाएकाले बिरामी राख्न समस्या नहुने उनको भनाइ थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्