आजदेखि सबै अन्तर्राष्ट्रिय उडान स्थगित, भोलिदेखि सार्वजनिक सवारीसाधन ठप्प

Machchapuchchre

कोरोना भाइरस संक्रमणको महामारी रोक्ने अभियानअन्तर्गत सरकारले आज आइतबार देखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका सन्दर्भमा राष्ट्रका नाममा गरेका सम्बोधनअनुसार सरकारले आज अर्थात् चैत ९ गतेदेखि १८ गतेसम्मका लागि नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान स्थगन गरेको हो ।

तर आन्तरिक अर्थात् देशभित्रैका हवाई उडान भने हुनेछन् । नेपालबाट दैनिक ४५ देखि ५० वटासम्म अन्तर्राष्ट्रिय उडान हुँदै आएको थियो । उडान र अवतरण गर्दा गर्दा ९० हाराहारी हुँदै आएका थिए ।

यस्तै भोलि चैत १० गतेदेखि देशभर लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधन सञ्चालनमा सरकारले रोक लगाउँदै छ । तर छोटो दूरीका सवारीसाधन भने यथावत सञ्चालन हुनेछन् । लामो दूरीका गाडी बन्द हुने डरले नै उपत्यकाबाट घर जानेहरू अहिले धमाधम गइरहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिबार एकै दिन १ लाख ८६ हजार ५ सय ४९ यात्रु बाहिरिएका छन् । सम्बोधनका क्रममा राजपत्रमा उल्लेख अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने प्रधानमन्त्रीले घोषणा गरेका थिए । यातायात अत्यावश्यक सेवाअन्तर्गत परे पनि कोरोना संक्रमण जोखिमका दृष्टिले अन्तर्राष्ट्रिय हवाई उडान र लामो दूरीका सवारीसाधन सञ्चालन बन्द गर्ने निर्णयमा सरकार पुगेको हो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्