कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय नाघ्यो, २ लाख ७५ हजार संक्रमित

Machchapuchchre

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८३ पुगेको छ । एकै दिन १३ सय ५२ जनाको मृत्यु भएपछि मृतकको संख्या ११ हजार ३ सय भन्दा बढी पुगेको हो । संक्रमित हुने मानिसको संख्या पनि बढ्दो छ ।

पछिल्लो २४ घण्टामा अरु ३० हजार २५६ जनामा कोरोनाको संक्रमण देखिएको छ । योसँगै संक्रमित हुनेहरुको संख्या २ लाख ७५ हजार १ सय ८९ पुगेको छ । इटालीमा कोरोनाभाइरसको संक्रमणबाट २४ घण्टाभित्र ६ सय २७ जनाको मृत्यु भएको छ ।

यो संख्या बिहिबार मृत्यु भएका भन्दा २ सयले बढी हो । यसअघि बिहिबार ४ सय २७ जनाको मृत्यु भएको थियो । थप ६ सय २७ जनाको मृत्यु भएसँगै इटालीमा ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ ।

संक्रमित हुनेको संख्या पनि अत्यासलाग्दो तवरले बढेको छ । बुधबारसम्म ३५ सयको हाराहारीमा नयाँ मानिसहरुमा संक्रमण देखिदै आएकोमा शुक्रबारसम्म करिव ६ हजार मानिसमा नयाँ संक्रमण देखिन थालेको छ । शुक्रबार ५ हजार ९ सय ८६ जनामा संक्रमित फेला परेका छन् । योसँगै इटालीमा मात्रै कोरोनाबाट संक्रमित हुने मानिसको संख्या ४७ हजार २१ पुगेको छ ।

उपचार गराइरहेका ३७ हजार ८ सय ३७ मध्ये २६ सय ५५ जनाको अवस्था गम्भीर छ । कोरोना संक्रमण रोक्न इटाली सोमबारदेखि ‘लक डाउन’ लागु गरेपनि मृतकको संख्या अस्वाभाविक तवरले बढिरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा स्पेनमा २ सय ६२ जनाको मृत्यु भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या १ हजार ९३ पुगेको छ ।

३४ सय ३३ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या २५ हजार १ सय १० पुगेको छ । त्यसमध्ये ९ सय ३९ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यस्तै इरानमा १ सय ४९ जनाको मृत्यु भएपछि मृतकको संख्या १४ सय ३३ पुगेको छ । थप १२ सय ३७ जनामा कोरोनाको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या १९ हजार ६ सय ४४ पुगेको छ ।

फ्रान्समा थप ७८ जनाको मृत्यु भएपछि मृतकको संख्या ४ सय ५० पुगेको छ भने १२ हजार ६१२ जना संक्रमित भएका छन् । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४९ जनाको मृत्यु भएपछि मृतकको संख्या बढेको हो । अमेरिकामा ५६ सय ४ जना नयाँ संक्रमित फेला परेपछि संक्रमण देखिनेको संख्या १९ हजार ४ सय पुगेको छ ।

कोरोना भाइरसको उद्भव मानिएको चीनमा थप ७ जनाको मृत्यु भएपछि मृतकको संख्या ३२ सय ५५ पुगेको छ । तुलानात्मक रुपमा चीनमा संक्रमण देखिने क्रम न्यून भएको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको दर पनि बढेको छ । संक्रमितमध्ये ३ प्रतिशत हाराहारी मानिसको मृत्यु भइरहेकोमा अहिले ४ प्रतिशत नाघेको छ ।

युरोपमा कोरोनाको महामारी फैलिएसँगै मृत्यु हुने दर पनि बढेको छ । कोरोनाबाट बालवालिका, रोगी र अशक्तलाई बढी खतरा भनिरहँदा विश्व स्वास्थ्य संगठनले युवाहरु पनि उत्तिकै खतरा रहेको चेतावनी दिएको छ ।

युवाहरुको रोग प्रतिरोधक क्षमता कोरोना भाइरसबाट मुक्त नभएकाले धेरै हिँडडुल गर्ने र कमजोर एवं वृद्ध मानिसहरुको संगत कम गर्ने कुरामा ध्यान दिन डब्लुएचओले सुझाएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले जीवन र मरणको अवस्था स्वयं युवाहरुको व्यवहारमा भर पर्ने बताएका छन् ।

‘युवाहरुले चयन गरेका व्यवहारले कसैका लागि पनि जीवन र मरणबीचको अन्तर हुन सक्छ,’ उनले भने । कोरोना भाइरसको संक्रमण विश्वका अधिकांश मुलुकमा पुगिरहँदा युवाहरुले यसमा खासै चिन्ता नलागेको भन्ने एउटा अध्ययन रिपोर्ट सार्वजनिक भएलगत्तै विश्व स्वास्थ्य संगठनले यस्तो चेतावनी दिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्