सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा सीमा नाका अनुगमन

Machchapuchchre

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज बिहान गड्डाचौकी नाकाको स्थलगत अनुगमन गरेका छन् । सो अवसरमा उनले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार लागि परेको बताए । ‘सीमा नाकाबाट नेपाली घर फर्किने क्रम बढेकाले सिमाना सतर्कता अपनाउन लागिएको छ,’ उनले भने, ‘थप सुरक्षा र सतर्कता अपनाउन सङ्घीय सरकारसँग पनि सहयोग र समन्वय हुन्छ ।’

कैलाली र कञ्चनपुरमा बृहत्रुपमा तयारी भइरहेको बताउँदै उनले विभिन्न अस्पताल र वार्ड व्यवस्थापनका लागि पहल भइरहेको बताए । मुख्यमन्त्रीसँगै सीमा नाकाको अनुगमनका लागि सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, प्रदेशसभा सदस्य लालबहादुर खड्का, भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्ट, नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी शङ्करबहादुर पण्डित लगायतको टोली गड्डाचौकी पुगेको थियो ।

सो क्रममा सामाजिक विकासमन्त्री सुवेदीले दुई थान इन्फ्रारेड थर्मोमिटर मेसिन स्वास्थ्यकर्मीको टोलीलाई उपलब्ध गराए । साथै अनुगमनका क्रममा सेनाका बाहिनीपति सहायकरथी पण्डितले मुख्यमन्त्रीलाई गड्डाचौकी सीमा नाकामा अपनाइएको सतर्कता, स्वास्थ्य परीक्षण र आवश्यक व्यवस्थापनका विषयमा जानकारी गराएका थिए ।

त्यसैगरी स्थानीय प्रशासनले पनि कोरोना भाइरस सङ्क्रमण हुन नदिन आज बैठक बसी विभिन्न निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । उनले गड्डाचौकी नाकाबाहेक कञ्चनपुरका अन्य सबै नाकाबाट भारततर्फको आवागमन तत्कालका लागि बन्द गर्ने निर्णय भएको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्