उपनिर्वाचन अपडेट– ५३ प्रतिशत मत खस्यो, मतदान जारी

Machchapuchchre

काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज जारी उपनिर्वाचनमा विभिन्न जिल्लाको मतदानस्थलमा मतदाताले उत्साहजनकरुपमा मतदान गरिरहेका छन् ।

कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान जारी रहेको हो । मतदान शान्तिपूर्णर रुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दिउँसो १ बजेसम्म ५३ प्रतिशत मत खसेको छ । उनका अनुसार निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ ।

तर केही जिल्लाका मतदान स्थल नजिकै बम बिस्फोट भएको छ । पोखरा, सर्लाही, लमजुङ र डोटीमा बम फेला परेको छ । पोखराको चार स्थानमा बम विस्फोट भएको छ भने अन्य जिल्लाका मतदान स्थल नजिकै फेला परेका बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदका लागि भइरहेको मतदानमा करिब ४५ प्रतिशत मतदान भइसकेको छ । सो क्षेत्रका ८२ वटै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए ।

बिहानैदेखि मौसम सफा रहेका कारण मतदाताहरु चाँडै घरबाट निस्केर मतदान गर्न आएको देखिन्छ । सो क्षेत्रमा नेकपाकी उम्मेदवार विद्या भट्टराईले पोखरा–३३ स्थित शान्ति उदय मतदान केन्द्रबाट मतदान गरिन् भने छ भने साझा पार्टीकी उम्मेदवार रजनी केसीले पोखरा–४ स्थित गैरपाटनस्थित नवीन मावि मतदान केन्द्रमा मतदान गरिन् ।

पोखरामा मतदान जारी रहँदा विभिन्न चार स्थानमा बम विस्फोट भएको थियो तर कुनै मानवीय क्षति हुन भने भएको छैन । भोजपुरको पौवादुङमा गाउँपालिका –१ श्यामशिलामा वडाध्यक्षका लागि भएको निर्वाचन शान्तिपूर्ण रुपले जारी छ । मध्याह्न १२ बजेसम्म ५६९ जनाले मतदान गरेको मतदान अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए ।

पाँचथरमा अहिलेसम्म फिदिम नगरपालिका–१ मा २५.०३, हिलिहाङ गाउँपालिका–७ मा २०.१९ र फाल्गुनन्द गाउँपालिकामा ४९.८१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मोहन भट्टराईले जानकारी दिए ।

बागलुङ–२ (ख) र बडिगाड गाउँपालिका–२ मा अहिलेसम्म ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माका अनुसार ६० देखि ६५ प्रतिशत मत खस्ने अनुमान छ । विसं २०७४ को चुनावमा ६५ प्रतिशत मत खसेको थियो ।

गुल्मीको रुरु गाउँपालिका–६ को उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान जारी छ । बिहान ७ बजेबाट नै मतदान शुरु भएको निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले बताए । निर्वाचनका लागि एक मतदान केन्द्र र दुईवटा मतदानस्थल तोकिएको छ । प्रजिअ कोशहरि निरौलाका अनुसार मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।

सर्लाहीको हरिपुर्वा नगरपालिका–१ मा वडाध्यक्षको उपचुनावमा मतदान जारी रहँदा अमखोराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा बम फेला परेको छ । बम विस्फोट हुनुअगाडि नै रणशेर गणबाट आएको नेपाली सेनाको टोलीले डिस्पोज गराएको थियो ।

लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडास्थित महेन्द्र मन्दिर मावि मतदान केन्द्र नजीकै बम विस्फोट भएको छ । मतदान केन्द्रबाट २०० मिटर टाढा जङ्गलमा टाइम बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्तबहादुर रानामगरले बताए । बम विस्फोट भए पनि कुनै क्षति भएको छैन ।

नवलपुरको बौदीकाली गाउँपालिका–१ मा वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको छ । पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदिकाली–५ को उदय आधारभूत विद्यालय जौबारीमा मतदान सञ्चालन भइरहेको छ । निर्वाचनमा अहिलेसम्म २९१ मत खसेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।

सङ्खुवासभाको मकालु गाउँपालिका र खाँदबारी नगरपालिका–३ मा मतदान जारी छ । मकालु गाउँपालिकामा अध्यक्ष र खाँदबारी नगरपालिका–३ मा वडाध्यक्षको निर्वाचन भएको हो । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले गोरखा माविमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकराज जोशीले हालसम्म ५३९ जना मतदाताले मतदान गरिसकेको बताए ।

डोटीका २ छुट्टा छुट्टै स्थानमा बम फेला परेका छन् । बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । डोटीको आदर्श गाउँपालिका–२, कुचेडा र सोही वडाको कानगडा भन्ने स्थानमा बम भेटिएको हो ।

आदर्श गाउँपालिका वडा नम्बर २ मा रिक्त वडाध्यक्षका लागि भइरहेको मतदानमा मतदान केन्द्र नजिकै राखिएको बम डिस्पोज गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले उपनिर्वाचनमा पाँचथरको फिदिम नगरपालिका वडा नं १ मा आज बिहान मतदान गरेका छन् । रिक्त रहेको वडाध्यक्ष पदमा फिदिम–१ मा उपनिर्वाचन भएको हो । मन्त्री नेम्वाङले फिदिम मावि मतदानस्थलको ‘घ’ मतदान केन्द्रमा मतदान गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्