आवश्यकताभन्दा धेरै औषधि र ग्यास खरिद नगर्न सरकारकाे आग्रह

Machchapuchchre

काठमाडाैं । सरकारले आवश्यकताभन्दा धेरै औषधि र ग्यास खरिद नगर्न आग्रह गरेको छ। सरकारले दैनिक उपभोग्य वस्तुको भारतबाट सहज रूपमा आपूर्ति भएको र औषधिको स्टक पनि छ महिनासम्म रहेकाले घरघरमा नथुपार्न आग्रह गरेको हो।

मंगलबार बसेको उच्च स्तरीय समितिको बैठकमा ग्यास, औषधिलगायत उपभोग्य वस्तुको स्टकबारे छलफल भएको थियो। ‘औषधि छ महिना र पेट्रोलियम पदार्थ तीन महिनालाई पुग्ने छ,’ अर्थमन्त्री युवराज खतिवडाले बैठकपछि भने, ‘अहिले दक्षिणबाट आउने व्यापारमा कुनै अवरोध छैन।’

कोरोनाभाइरसको संक्रमण देखिएपछि भारतले केही औषधि निर्यातमा रोक लगाएको थियो। बैठकमा औषधिको निर्यात प्रतिबन्ध फुकुवा गर्न कूटनीतिक पहल गर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए।

‘व्यवसायीहरूले छ महिनासम्म औषधि पुग्ने छ भन्नुभएको छ तर केही औषधि आयातमा समस्या रहेकोमा सरकारले त्यसको पनि कूटनीतिक हल खोज्छ,’ मन्त्री खतिवडाले भने। उनले कोरोनाको विषयलाई लिएर सरकारले सर्वदलीय बैठक पनि गर्ने बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्