उपनिर्वाचनको सबै तयारी पुरा, भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने

Machchapuchchre

काठमाडौं । निर्वाचन आयोगले शनिबार हुने उपनिर्वाचनको सबै तयारी पुरा भएको जनाएको छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको मङ्सिर १४ गते उपनिर्वाचनमा खटिएका मतदान अधिकृतसहितका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्रीसहित खटाइएको स्थानमा पुगेर मतदानस्थल व्यवस्थापनको कार्यमा जुटेका छन् ।

निर्वाचन आयोगका अनुसार, आगामी शनिबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुने मतदानका लागि निर्वाचन सामग्री पुगेसँगै मतदानस्थल व्यवस्थापनको काम पनि शुरु भएको हो । मतदान केन्द्रमा कर्मचारी पुगेसँगै नयाँ मतदाताका लागि मतदाता परिचयपत्र वितरणको काम पनि शुरु भएको छ ।

उपनिर्वाचमा मतदाता शिक्षाका लागि खटिएका मतदाता शिक्षा कार्यकर्ताबाट घरदैलोमा पुगेर सहीरुपमा मतदान गर्ने काम भइसकेको छ । उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि दुई सय ४७ मतदानस्थल र पाँच सय ३७ मतदान केन्द्र तोकिएका छन् । यस उपनिर्वाचनका लागि ४ लाख ५४ हजार एक सय १४ मतदाता कायम छन् ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित एकीकृत सुरक्षा योजना तर्जुमा गरी प्रभावकारीरूपमा कार्यान्वयन भइरहेको छ । प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्यतर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि दुई सय ७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

तुलनात्मकरुपमा यस पटकको उपनिर्वाचन कास्की, धरान, दाङ, भक्तपुर र बागलुङ र बढी चर्चामा रहेको छ । कास्की–२ मा प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ भने भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदको उपनिर्वाचन हुन लागेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्